वर्षायाममा मेलम्चीको सट्टा बागमतीको पानी आपूर्ति गरिने

काठमाडौं । बागमती सुधार आयोजनाले धाप ड्यामबाट वर्षायामको ९० दिन मेलम्ची खानेपानी विकास समितिलाई ३२ करोड लिटर पानी सापटी दिने भएको छ।
एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बुधबार मेलम्ची खानेपानी विकास समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) तथा बागमती सुधार आयोजनाबिच ४ बुँदे सहमति भएको छ। सो सहमतिमा मेलम्चीका सिनिएर डिभिजन इन्जिनियर वीरेन्द्र कँडेल, बागमती सुधार आयोजनाका आयोजना प्रमुख रवीन्द्र बोहरा तथा केयुकेलबाट प्रमुख कार्यकारी अशोक पौडेलले हस्ताक्षर गरेका छन्।
जस अनुसार, धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखामार्फत केयुकेएललाई प्रवाह गर्ने, उक्त प्रवाह गरिएको पानी सुख्खा याममा सुन्दरीजल पानी प्रशोधन शाखाको ३० नम्बर गेटबाट मेलम्चीको पानी शोधभर्ना स्वरूप बागमती नदीमा प्रवाह गर्ने सहमति भएको छ।

३० नम्बर गेटबाट पानी शोधभर्ना हुन नसकेमा सुन्दरीजल जलविद्युत केन्द्रबाट आउने पानी बागमती नदीमा पानी प्रवाह गरी शोधभर्ना गर्ने सहमति भएको बागमती सुधार आयोजनाका प्रमुख बोहाराले जानकारी गराए। उनका अनुसार यसअघि पनि मेलम्ची र बागमतीबिच पानी साटफेर हुने गरेको छ। वर्षा याममा बढी वर्षा भएको समयमा समयमा मेलम्चीको ढोका बन्द हुने भएकोले उपत्यकामा पानीको अभाव हुन्छ।

यही बेला बागमती नदीको उद्गम स्थल धाप ड्याममा ड्यामको क्षमता अनुसार नै पानी संकलन हुन्छ। ‘खासगरी सुख्खा यामको ९ महिना बागमती नदीमा पानी चाहिएको हुन्छ। तर वर्षा यामको ३ महिना हामीलाई चाहिने भन्दा बढी पानी जम्मा हुन्छ’बोहराले भने, ‘त्यसैले बागमती र मेलम्चीबिच पानी साटफेर गर्ने गरेका छौ।’

मेलम्चीले गत जेठ १८ गते बागमतीलाई चिठी लेखेर आगामी जेठ २६ गते देखि बर्षादको सम्भावना भएको कारण मेलम्चीको पानी बन्द हुने भएकोले धाप ड्यामको पानी हाल बत्तिस करोड लिटर पानी (अधिकतम ४ सय लिटर प्रति सेकेण्डका दरले) सुन्दरीजल पानी प्रशोधन शाखामा प्रवाह गर्न प्रस्ताव गरेको थियो। वर्षाले मेलम्ची टनेल बन्द भएपछि धाप ड्यामको पानी उपलब्ध गराउन मेलम्चीले प्रस्ताव गरेको छ।

बागमती सुधार आयोजनाका सिँचाइ युनिट प्रमुख निश्चल छतकुलीका अनुसार धाप ड्याममा हाल करिब १ अर्ब लिटर पानी छ। यसको अधिकतम क्षमता १ अर्ब ४६ करोड हो। बागमतीले मेलम्चीलाई ३२ करोड पानी दिने हो भने प्रति सेकेन्ड ४ सय लिटरको दरले पठाउँदा ९ दिन ४ घण्टा लाग्छ। धाप ड्याममा न्यूनतत ७० करोड लिटर हुन आवश्यक छ। ‘त्यसैले हामीले मेलम्चीलाई बढीमा ९ दिन ४ घण्टा पानी दिन सक्छौ’ उनले भने। धाप ड्याम बागमती नदीको सहायक नदी बागमतीको उद्गम स्थल हो। यहीबाट बागमती सुरु हुन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर