हाम्रो भूमि, हाम्रो भविष्य : डा. कमलराज गोसाई
—जब जब वातावरण दिवस मनाउने दिन नजिकिन्छ त्यति–त्यति हामी विशेषगरी जुर्मूराउन थाल्छौं । जुन ५ को दिन र त्योभन्दा केही हप्ता अघिदेखि यो दिन कसरी मनाउने भन्नेबारे संसारभरका मानिसहरु सोच मग्न हुन्छन्, कोही मानिस ६ सात महिनादेखि त कोही एक वर्षभर लागिरहन्छन् । वातावरण दिवसको दिन चोक, विद्यालय, क्याम्पस, विश्वविद्यालय, सरकारी र गैरसरकारी झन्डै सबै क्षेत्रमा यो दिवस मनाउन मेला लाग्छ र साझा भविष्य मनाउने कशम खान्छन् । आजसम्मको यो सफलताको दूरी तय गर्न झन्डै ५० वर्ष लागेको देखिन्छ । पहिलो पटक वातावरण दिवस सन् १९७३ मा मनाइएको थियो, यो दिवसको स्थापना भने १९७२ मा स्टकहोममा भएको हो ।
मानिस त्यस्तो प्राणी हो जसले आफूसँग नभएको खोज्न थाल्छ, गुमेको चिजमा पछुतो गर्छ र फेरि प्राप्त गर्न चाहन्छ । कृषिक्रान्ति र औद्योगिक क्रान्तिपश्चात् भएको भौतिक र शहरी विकासले मानिसहरुमा दृश्य र शक्तिको लोभ बढ्दै गएको देखिन्छ। यही लोभले गर्दा नै संसार भरिका विभिन्न स्थानहरुमा मानिसहरुमा पारिथिकीय प्रणालीहरु ध्वस्त भएका छन् । जंगल, पोखरी, समुन्द्र, हिमाल , पहाड , समतल भूमि , सबै प्राणलीमा मानिसहरुले असर पारेका छन् । तथ्यांक अनुसार ४० प्रतिशत भूमिको क्षयीकरण भएको छ जसले गर्दा पृथ्वीका आदि जनसंख्या प्रभावित भएका छन् । सन् २००० यता सुख्खा को घटना २९ प्रतिशतले बढेको देखिन्छ । यदि आज नै समाधानका उपायहरु अपनाएनौँ भने तीन चार प्रतिशत जनसंख्या प्रभावित हुने अनुमान संयुक्त राष्ट्र संघको मरुभूमिकरण सम्बन्धीको एउटा शाखाले जनाएको छ । अतिवृष्टि, अनावृष्टि , बाढीपहिरो , सुख्खा र खडेरी, पानीजन्य, हावाजन्य, विषाणुजन्य महामारीको खतरा खाद्य संकट, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनजस्ता अनेक समस्याहरुले पृथ्वी आक्रान्त भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
आज प्रत्येक पाँच सेकेन्डमा एउटा फूटबल मैदानबराबरको क्षेत्रफल क्षय भइरहेको छ जबकि ३ सेन्टिमिटर माटो बन्न एक हजार वर्ष लाग्ने गर्दछ । यसरी प्रत्येक सेकेन्डमा माटोको क्षयीकरणको गति बढ्दै जाने हो भने पृथ्वी मानिसका लागि मात्र नभई र कुनै पनि किसिमका प्राणीका लागि बस्न लायकको हुने छैन । त्यसैले हिजो जे जति बिगार्यो त्यसमा प्रायश्चित गर्न र पृथ्वीको चहराइरहेको घाउमा मल्हम लगाउन संयुक्त राष्ट्र संघले एउटा नौलो आह्वान गरेको । यो वर्ष नेपालको नारा “हाम्रो भूमि : हाम्रो भविष्य” तय भएको छ । यो नारा निक्कै नै सान्दर्भिक यस अर्थमा छ कि हाम्रो भविष्य हाम्रो भूमिमा निर्भर रहन्छ । मरुभूमिकरण उन्मुख र प्रयोगविहीन वा अति प्रयोग र प्रदूषित भूमिलाई पुनर्स्थापना गर्नेतर्फ लाग्नुपर्ने टड्रो आवश्यकतालाई दृष्टिगत गरेर यो नारा तय भएको हुनुपर्छ । नेपालमा यो नारासहित देशव्यापी रुपमा वातावरण दिवस भव्यताका साथ मनाइँदैछ ।
वातावरण दिवस मनाउँदै गर्दा केही हप्ताअघि देशभरको जंगलमा फैलिएको डढेलोको बारेमा पनि सोच्नु आवश्यक देखिन्छ । काठमाडौं उपत्यकाजस्तो नेपालको केन्द्रका पहाडहरुमा लागेको डढेलो नियन्त्रण गर्न वन विभाग रहेको हामी सबैलाई जानकारी नै छ । डढेलोले गर्दा वायु प्रदूषणको मापन ह्वातै बढाएको थियो । वायु प्रदूषण मात्रै होइन कैयन् प्राणी र वनस्पति पनि डढेलोको शिकार भए । कैयन हेक्टर भूमि उत्पादनहीन जस्तै बन्यो ।
अर्को दृष्टान्ट कृषि उत्पादन बढाउने चेष्ठामा हामीले माटोमा विभिन्न खालका विषहरु घोलिरहेका छौं । कीटनाशक विषदीको अचाक्ली प्रयोगले गर्दा माटोको मलिनो पनमा ह्रास आएको छ । उत्पादन बढाउने मोहमा अझ अधिक रासायनिक मलको प्रयोगले गर्दा उर्वर माटो मरुमूमि तुल्य हुन थालेको छ । कीटनाशक विषादी र रासायनिक मलको प्रयोगबाट उत्पादन भएको खाद्यवस्तुले मानिसमा परेको असर त झन् कहालीलाग्दो छ । यसै क्रममा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वातावरण दिवसको अवसरमा सन्देश दिँदै भन्नुभएको छ, “मानिसको भविष्य भूमिमा निर्भर भएपनि प्रदूषण, जलवायु परिवर्तन र जैविक विविधताको विनाशले गर्दा भूमि मरुभूमिमा परिवर्तन भएको छ । दिगो विकासको लक्ष्य पूरा गर्न सन् २०३० सम्ममा वन फँडानीलाई रोक्ने किसिमको योजना बनाउनुपर्छ । विकासोन्मुख राष्ट्रहरुलाई जलवायु परिवर्तनमा अनकुल बनाउन प्राकृतिक स्रोत संरक्षण गर्न दिगो विकासका लक्ष्यहरुलाई पूरा गर्न विकसित देशहरुले आर्थिक स्रोत प्रदान गर्नु पर्दछ ।”
नेपालमा जलवायु परिवर्तन कम गर्न, वन फँडानी कम गर्ने , डढेलो नियन्त्रण गर्न, कीटनाशक विषादी र रासायनिक मलको प्रयोगमा कमी ल्याउने, कुनै पनि कार्यक्रम वा योजना हुँदै नभएको पनि होइन । तथापि समस्या जहिले पनि ज्यूँकात्यूँनै छ । किनभने हाम्रा योजना र बजेट कनिका छरिए जस्तै छरिएका छन् । हाम्रा योजना गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको स्वार्थले लिप्त स्वस्ती कार्यले लट्पेटिएका छन् । कामभन्दा कुरा ज्यादा भएका छन् । साँच्चै नै भन्नुपर्दा मानवको भविष्य जोडिएको छ, हिजोको दिनमा पनि मानवको विकास र उत्पत्ति नदी छेउका भूमिमा भएको थियो भने मानवको विकास पनि भूमिमै भएका कारणले कुरा होइन काम, कामको लागि काम होइन परिवर्तन र मानव जगतको सुरक्षार्थ योजनाअनुसारको कामको टड्कारो आवश्यकता भइसकेको छ ।
डा. गोसाई केन्द्रिय वातावरण विज्ञान विभाग त्रि.वि मा उपप्रध्यापक हुनुहुन्छ