आईसीसी टी-२० : पहिलो खेलमै नेपाल पराजित

काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर दुई बलमा सबै विकेट गुमाउँदै केवल १०६ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १८ ओभर चार बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै जित हासिल गर्यो।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले अविजित ५४ रनको पारी खेले। यस्तै विक्रमजित सिंहले २२, सेब्रान्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए। बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए। ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाए। यस्तै करन केसीले १७, गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए। नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगल र लोगन भान बीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए। टिम प्रिङगल खेलको ‘प्लेयर अफ द म्याच’ पनि भए। विश्वकप अन्तर्गत नेपालले अब दोस्रो खेल यही जेठ २९ गते श्रीलंक विरुद्ध अमेरिकाको फ्लोरिडामा खेल्नेछ।