काठमाडौं उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

काठमाडौं । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयसम्म वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । यो प्रि मनसुन क्रियाकलाप भएको महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा छ । कोशी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस वर्षको मनसुन यही जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने विभागको पूर्वानुमान छ । यद्यपि मनसुन भित्रिने सरदर मिति केही दिन तलमाथि हुने विभागले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर