देशभर चर्को गर्मी, नेपालगञ्ज र धनगढीमा ४४ डिग्री, काठमाडौंमा ३४ डिग्री मापन

काठमाडौं । नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिजो नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ ।

दुवै ठाउँको तापक्रम यस वर्षकै सबैभन्दा धेरै हो । यसअघि यसवर्षको उच्च तापक्रम वैशाख ८ गते भैरहवामा ४३ दशमलव ६ डिग्री मापन भएको थियो । देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । हिजो वीरेन्द्रनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस, घोराहीको ४० दशमलव २ डिग्री सेल्सियस, भैरहवाको ३९ दशमलव ४ डिग्री सेल्सियस, सिमराको ३८ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ३८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

काठमाडौं र पोखराको तापक्रम पनि बढेको छ । हिजो काठमाडौंको अधिकतम तापक्रम ३४ दशमलव ४ र पोखराको ३४ डिग्री सेल्सियससम्म मापन भएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ । यसैबीच हिजो काठमाडौं उपत्यकासहित बागमती, कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा साँझ हावाहुरी र चट्याङसहित पानी परेको थियो । जसबाट गर्मीले आक्रान्त सर्वसाधारणलाई राहत महसुस भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर