पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले सोमबार पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । पाण्डेले बुधबारै शपथ लिने तयारी भएको छ । दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौथो सरकार बनेको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले पाएको विश्वास मत अवैधानिक ठहर भएपछि उपधारा ३ अनुसार पाण्डे नेतृत्वमा सरकार बनेको छ । गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठुलो दल हो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ ।

स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मतमात्र जुट्ने अवस्था छ । सरकारमा राप्रपाको पनि समर्थन जुटाउने र राप्रपाबाट पनि मन्त्री नियुक्त गर्ने प्रयास भए पनि बुधबार राप्रपा सरकारमा सहभागी नहुने भएको छ । राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले सरकारमा जाने वा नजाने र मन्त्रीबारे निर्णय पार्टी केन्द्रले गर्ने बताए । पाण्डेले ३० दिनभित्र अर्थात असार १३ गतेभित्रै विश्वासको मत लिनैपर्छ । त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम ल्याउनैपर्ने वाध्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर