एउटा ट्रक बाटोमा फस्दा यात्रुले २२ घन्टा सास्ती बेहोरे

काठमाडौं । एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ । सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिँदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको नवलपुर प्रहरीले जनाएको छ ।

सडक छेउमा फसेको बा प्र ०३–००१ ख ०९६१ नम्बरको ट्रकका कारण बाटो अवरुद्ध भएको थियो । नारायणघाट–बुटवल सडक योजनाको लापरवाही लामो समय बाटो अवरुद्ध हुँदा यात्रुले सास्ती पाउनु परेको थियो । सडक योजनाले उक्त ट्रकका चालक, सहचालक र सवारी धनी सम्पर्कमा नआएका कारण त्यसलाई हटाउन नसकेको भनेर गलत सूचना दिएकाले बाटो लामो समयसम्म अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।

योजनाले ट्रकसँग सम्बन्धित व्यक्ति वा ट्रकसँग सम्बन्धित व्यक्तिलाई चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको थियो । तर प्रहरीले भने ट्रक चालक घटनास्थलमै रहेको र ट्रक धनीसँग पनि सम्पर्क भएको बताएको थियो ।

तर आयोजनाले यसो भने पनि ट्रक तान्ने क्रेन आउन ढिलाइ भएकाले बाटो सञ्चालनमा आउन नसकेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले ट्रक तान्न विशेष खालको क्रेन चाहिले र क्रेन मगाउन आयोजनाले ढिलाइ गरेको बताए । ट्रक तान्न दुम्कीबाट मगाइएको क्रेन दाउन्नेमा जाममा फसेकाले अहिलेसम्म पनि घटनास्थलमा नपुगेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । क्रेन नआएपछि वैकल्पिक बाटो निर्माण गरेर सडक सञ्चालनमा ल्याइएको पौडेलको भनाइ छ । सडक आयोजना स्थलमा समस्या आए निर्माण कम्पनी आफैँले तत्काल सहज गराउनुपर्ने भए पनि क्रेन ल्याउन नसक्दा लामो समय बाटो अवरुद्ध भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर