आर्थिक उन्नतिका लागि बजेटले टेवा दिन्छ : डा. वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आय र व्ययको अनुमान ठीक रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सरकारद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटबारे प्रतिक्रिया दिँदै उनले सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न रहेको बताए । उनले भने, “यसमा अर्थमन्त्रीलाई अलिकति शङ्काको लाभ दिन चाहन्छु । पाँच वटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको पनि सहयोग लिएर काम गर्न सकिएमा आर्थिक उन्नतिका लागि टेवा दिन्छ ।”

बजेटले प्रक्षेपण गरेजस्तो मात्रामा आन्तरिक ऋण उठाउनु नपर्ला भन्ने अनुमान सरकारले गरेको हुनसक्ने प्रतिक्रिया दिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा।वाग्लेले सिँचाइ र कृषि क्षेत्रका लागि विनियोजित बजेटले यस क्षेत्रको विकासका लागि केही योगदान दिन्छ भन्ने आफूलाई लागेको बताए । सरकारले आगामी वर्ष पर्यटक आगमन १६ लाख पुर्‍याउने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियादेखि विभिन्न पर्यटकीय पदमार्गहरुको विषय बजेटमा समेट्नु सकारात्मक रहेको उनको भनाइ छ ।

बजेट परम्पराको निरन्तरता : अध्यक्ष लिङ्देल

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले परम्पराको निरन्तरताको रुपमा एक थान बजेट आएको प्रतिक्रिया दिए । उनले भने, “बजेटले निरासामा परेका जनतालाई आशा जगाउन सक्दैन । धेरैलाई चित्त बुझाउनका लागि अङ्क बढाएर ल्याइएको छ । नयाँ कार्यक्रम पनि छैन ।”

लगानी आउने परिवेश नरहेको : डा. महत

यसैगरी नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताए । उनले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताए । उनले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैर प्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुरा नरहेको बताए । उनले आफ्ना समर्थकको ठाउँमा बजेट यथेष्ठ विजियोजन भएको बताए । उनले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको पनि उल्लेख गरे । सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोपसमेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर