सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको छ। प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा एमाले सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको हो। समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

समितिको कार्यकाल तीन महिना रहेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समिति गठनको माग राखेर संसद् अवरुद्ध गर्दै आएको थियो। समितिको कार्यविधिका विषयमा आजै सत्तारुढ र प्रतिपक्षी दलबीच सहमति भएको थियो। समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानूनी र संस्थागत प्रयोजन एवं प्रणालीको नियमन, सुपरीवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिनुपर्नेछ। समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने जिम्मेवारी समितिले पाएको छ।
समितिले सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका २० वटा संस्थालगायत सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रियाबारे अध्ययन गरी बचत फिर्ताको उपाय सुझाउनुपर्नेछ।

सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानूनी रूपमा प्रवाह भएरनभएको र त्यस्तो गैरकानूनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूबारे अध्ययन छानबिन गर्नेछ। सहकारी संस्था सदस्य एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानिनोक्सानी पुर्‍याएको भनेर संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका नौ वटा सहकारीको अध्ययन गर्ने कार्यविधि तय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर