डलर साट्ने प्रलोभन देखाइ १८ लाख ठगेर भाग्ने पक्राउ

काठमाडौ । डलर साट्ने प्रलोभन देखाई अठार लाख रुपैया ठगेर भाग्दै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित लौकुन भन्ने स्थानमा अपरिचित व्यक्तिहरुले डलरको पोको भनी रुमालमा पोको पारेको २० का नेपाली नोट र कागजका टुक्राहरु दिई इलाम जिल्लाको इलाम नगरपालिका १ का ४४ वर्षीय राजु गौतमसँगको अठार लाख लिएर भागेको भन्ने सूचनाको आधारमा मध्यपहाडी लोकमार्गस्थित हैबारबेसीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ को २४ बर्षिय श्याम तामाङ, सोही ठाँउका २६ बर्षीय तेन्जेन पाइन र २७ बर्षीय नारायणबहादुर पाइन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले गोलञ्जोर गाँउपालिका वडा नम्बर ६ हैवारबेशीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गाढा निलो रङको झोलाभित्र रहेको नेपाली अठार लाख, यूएस डलर १ को २ सय ३७ थान, बा.प.०२–०४४प४३०९ नम्बरको ३५० सीसीको रातो कालो बुलेट मोटरसाइकल, बा.प्र.०२–०४५प६३०२ नम्बरको २२० सीसीको कालो रातो पल्सर मोटसाइकल बरामद भएको प्रहरी उपरीक्षक काफ्लले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर