रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष असर : सावधान रहन आग्रह

काठमाडौं  ।   भारतको पश्चिम बंगाल र बंगलादेशमा असर पुर्‍याउने गरी आएको ‘रेमल’ चक्रवातले नेपालका विभिन्न स्थानमा पनि अप्रत्यक्ष प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘रेमल’ चक्रवातले नेपालमा प्रत्यक्ष प्रभाव नपारे पनि सोमबार र मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदलीमा अप्रत्यक्ष प्रभाव पार्ने महाशाखाले जनाएको हो।

बंगालको खाडीमा विकसित भई भारततर्फ बढेको न्यून चापीय प्रणाली दुई दिनअघि चक्रवातमा रूपान्तरण भएपछि अहिले शक्तिशाली बनेको बताइएको छ। चक्रवातको नाम ‘रेमल’ भनिएको छ। यो चक्रवात भारतको पश्चिम बंगाल र बंगलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको मौसमविद्हरू चर्चा गरिरहेका छन्।

उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात सोमबार राति बंगलादेश र पश्चिम बंगाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। कोशी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने जनाइएको छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि महाशाखाले औंल्याएको छ।

तराईका भू-भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले सतर्क रहन महाशाखाले सूचित गरेको छ। बागमती प्रदेशको केही स्थान मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी गण्डकी प्रदेशको केही स्थान मेघगर्जन र चट्याङ  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र  एक/दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले सचेत गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर