चीनको युद्धाभ्यासबाट तातेको ताइवान स्ट्रेट : अचम्म मान्दैनन् ताइपेयीवासी

काठमाडौं ।  ताइवानको आकाश र समुद्र वरपर चिनियाँ सेनाले गरेको अभ्यासले चीनको जनमुक्ति सेनाले उक्त प्रायःद्वीपलाई पानीजहाज र वायुयानका मद्दतले कसरी चारैतिरबाट घेराहाल्छ भन्ने देखाएको छ। बेइजिङले उक्त टापुमा कसरी कब्जा जमाउँछ भन्ने कुराको त्यो ‘रिहर्सल’ हो र चीनले आफूले बारम्बार त्यस्तो गर्ने बताउँदै आएको छ। चीनले ताइवान स्ट्रेटमा अस्वाभाविक खालको नयाँ परिस्थिति निर्माण गरिसकेको छ र उक्त स्वशासित टापुमा सैनिक दबाब बढाउँदै लगेको छ। त्यसो भए पछिल्ला सैनिक अभ्यासहरू के हुन् र तिनले हामीलाई के बताउँछन्?

मिथ्या प्रचारविरुद्ध वास्तविकता

वास्तवमा के भइरहेको छ भन्नलाई गाह्रो छ। तर पछिल्लो अभ्यासले ओगटेको क्षेत्रफल हेर्दा सम्भवतः त्यो हामीले अहिलेसम्म देखेकोमध्ये ठूलो हुनसक्छ। ताइवान स्ट्रेटको अधिकांश हिस्सा, ताइवानलाई फिलिपिन्सबाट अलग गर्ने बासी च्यानल र ताइवानको पूर्वी तटमा अवस्थित प्रशान्त महासागरको ठूलो हिस्सा यसले समेटेको छ। बिहीबारको अभ्यास उक्त टापुलाई घेराबन्दी गर्ने कुरामा केन्द्रित थियो। र त्यसक्रममा वास्तविक रूपमा फौजलाई जमिनमा अवतरण गराउने बाहेक पूर्ण स्तरको आक्रमणको पूर्व तयारी गरिएको ताइवानका सैनिक विज्ञ चिएह चङ बताउँछन्।

उनले ताइवानको तटीय क्षेत्रमा अवस्थित टापुहरूमा गरिएको अभ्यासले जनमुक्ति सेनाविरुद्ध जवाफी आक्रमणमा प्रयोग हुनसक्ने संरचनाहरूलाई समाप्त गर्ने बेइजिङको मनसाय प्रकट गरेको बताए। उनी अहिले गरिएको दुई दिने अभ्यास यो वर्ष ताइवानले सहनुपर्ने अन्तिम खालको त्यस्तो गतिविधि नभएको ठान्छन्। चीनले उक्त अभ्यासलाई ‘जोइन्ट स्वर्ड २०२४-ए’ नाम दिएको छ। शुक्रवारका फुटेजले जनमुक्ति सेनाले ताइवानका प्रमुख शहर र बन्दरगाहमा आक्रमणको अभ्यास गरिरहेको देखाइएको थियो। जनसेनाको पूर्वी कमान्डले सार्वजनिक गरेको एउटा नाटकीय भिडियोमा जहाजहरूको एउटा समूह ताइवान नजिकै पुग्दै गरेको देखाइएको छ। त्यसमा ‘अघि बढ,’ ‘घेराबन्दी गर’ र ‘लक गर’ भनेको सुन्न सकिन्छ।

ताइवानको सम्पूर्ण क्षेत्रलाई सुन्तला रङ्गमा देखाइएको छ र सम्भवतः त्यसको अर्थ पूर्ण नियन्त्रण हुन जान्छ। चीनले जनमुक्ति सेनाका एकजना कर्णेलले उक्त अभ्यासको उद्देश्य राजनीतिक लवजसहितको भाषामा व्यक्त गरिरहेको भिडियो पनि सार्वजनिक गरेका छन्। “जस्तो कि देख्न सक्छौँ हामीले उक्त टापुको पूर्वमा अवस्थित समुद्री क्षेत्र र हवाई क्षेत्र नजिकै दुई वटा अभ्यास गरेका छौँ। मुख्य रूपमा ‘ताइवान स्वतन्त्रता’ पृथकतावादीलाई भाग्नबाट रोक्न र उनीहरूको सहजतालाई भङ्ग गर्न यसो गरिएको हो।”

ताइवानको पूर्वी तटमा प्रमुख सैनिक संरचनाहरू छन् र उक्त स्थान जापानको दक्षिणी टापुहरू नजिकै अवस्थित छ। त्यही भएर अमेरिकासहितका ताइवानका साझेदारहरूका लागि उक्त क्षेत्र विश्वसनीय आपूर्ति मार्ग हो। तर वास्तविकता त्यत्ति सहज छैन। जस्तो चीनले तटरक्षक पानीजहाजहरूको एउटा समूह ताइवानको नियन्त्रणमा रहेको वुचियु टापुको तीन नटिकल माइलभित्र पुग्न लागेको भिडियो सार्वजनिक गरेको थियो। फुजीआनको तटीय क्षेत्रमा अवस्थित यो सानो चट्टान भएको क्षेत्रमा समुद्री चराहरू बाहेक ताइवानी सैनिकहरूको एउटा सानो सैनिक टुकडी छ। बिहीवार ताइवानका रक्षा मन्त्रालयले ४९ वटा चिनियाँ वायुयान, १९ वटा जलसेनाका पानीजहाज र सात वटा तटरक्षक डुङ्गाहरू ताइवानी जलक्षेत्र नजिकै आएको आफ्नो अभिलेखमा राखेको थियो। ती पानीजहाजहरू साना आकारका युद्धपोत रहेको र तीनले हल्का खालका हतियारहरू बोक्ने बताइन्छ।

पछिल्लो अभ्यासमा चीनको ठूलो पानीजहाज वा विमानवाहक युद्धपोतहरूले भाग लिइरहेको कुनै सङ्केत मिलेको छैन। वास्तविक आक्रमण गर्न यस्ता ठूल्ठूला जहाजहरू धेरै सङ्ख्यामा आवश्यक पर्छ। अन्तिम पटक ताइवान नजिकै भएको सबैभन्दा ठूलो हमला सन् १९४४ मा थियो जुन बेला संयुक्त राज्य अमेरिकाले ओकिनावालाई कब्जा गरेको थियो। त्यसबेला अमेरिकी जलसैनिक फ्लिटमा ३०० जलसेनाका लडाकू, ११ ठूला विमानवाहक पानीजहाज, सयौँ फौजहरू र आपूर्ति पानीजहाजहरू सहभागी थिए।

बेइजिङले वास्तवमै ताइवानका नयाँ राष्ट्रपतिलाई रुचाउँदैन

बिहीबारका सैन्य अभ्याससँगसँगै बेइजिङले ताइवानका नयाँ राष्ट्रपति विलियम लाईको कडा आलोचना गरेको छ। चिनियाँ सरकारी मुख पत्र ग्लोबल टाइम्सले उनलाई एक जना ‘घमन्डी’ र ‘लापर्बाह’को संज्ञा दिएको छ। सीसीटीभीले उनलाई ‘इतिहासमा लज्जाको स्तम्भका रूपमा गाडिने’ भन्दै उनले ‘दुई राष्ट्र सिद्धान्तलाई विक्री गरेको’ भन्दै आलोचना गरेको छ।

राष्ट्रपति लाईले सोमबार पदभार सम्हालेपछि दिएको मन्तव्यमा चीनलाई चीन भनेर टिप्पणी गरेका थिए। यसो गरेर लाईले आफ्नो वास्तविक रङ्ग देखाएको र ताइवान चीन नभएको र त्यहाँ दुई वटा अलग्गै देशहरू रहेको सन्देश दिएको बेइजिङको बुझाइ पाइन्छ। उनीहरूको नजरमा त्यो ‘पृथकतावादी’ विचारधारा हो। बाहिरियाहरूका लागि यो अचम्मलाग्दो हुनसक्छ। तर दशकौँसम्म बेइजिङ र ताइपेइले चीनको परिभाषा र ताइवान चीनको हिस्सा रहेको या नरहेको विषयलाई अस्पष्ट नै राखिरहेका छन्। यसअघिकी राष्ट्रपति त्साइले पनि सावधानीपूर्वक चीनलाई जनाउन बिम्बात्मक पदावलीहरू जस्तै ‘प्राय:द्विपभन्दा अर्को तिरको भूभाग’ वा ‘बेइजिङका अधिकारीहरू’ प्रयोग गर्ने गरेकी थिइन्। ताइवानमा रहेका कतिपय विज्ञहरूले यस्तो भाषा महत्त्वपूर्ण रहेको र राष्ट्रपति लाईले एउटा खतरनाक सीमा नाघेको बताउने गर्छन्।

अरूहरूले बेइजिङले पहिलेदेखी नै लाईलाई विरोध गर्ने मनस्थिति बनाएको र उनको पछिल्लो भाषणले पछिल्लो चेतावनीका लागि एउटा बहानामात्रै प्रदान गरेको धारणा राख्ने गरेको पाइन्छ। अधिकांशमा आधारभूत सहमति के छ भने राष्ट्रपति सी जिन्पिङ ताइवानमाथि चीनको नियन्त्रण रहोस् भन्ने चाहन्छन्। तर त्यहाँका मानिसहरू कुनै पनि हालतमा त्यस्तो स्विकार्न चाहँदैनन्।

यो नयाँ सामान्य अवस्था हो

तर ताइवानमा कोही पनि अचम्ममा परेका छैनन्। उनीहरूका लागि चिनियाँ कम्युनिस्ट पार्टीको कदम अपेक्षाकृत नै हो। लाईको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी जब ज्यानुअरीको प्रारम्भमा तेस्रो कार्यकालका लागि निर्वाचित भयो, धेरैले कसरी र कहिले बेइजिङले प्रतिक्रिया जनाउँछ भनेर हेरिरहेका थिए। धेरैले लाईले पहिलो सम्बोधनसहित पदभार ग्रहण गरेपछि बेइजिङले प्रतिक्रिया जनाउने ठानेका थिए। र भयो पनि त्यस्तै। राष्ट्रपति लाईले जिम्मेवारी सम्हालेको चार दिनपछि पछिल्लो घटनाक्रम विकास भएका हुन्। चीनको यो कदम उपयुक्त सैनिक तयारीपछि आएको छ। कुनै पनि सेनाले यो स्तरको सैन्य अभ्यास केही दिनको तयारीले मात्रै गर्न सक्दैन। ध्यान दिनुपर्ने अर्को कुरा के पनि हो भने चीनले बारम्बार दुई देशबीचको अनौपचारिक सीमा ठानिने मेडिअन लाइन पार गरेको छ। उक्त सीमा दुवै देशको तटीय स्थल भन्दा ५० नटिकल माइल बाहिर पर्छ। तर चीनले अझै पनि ताइवानको तटबाट करिब २४ माइलमा अवस्थित विन्दु पार गरेको छैन। त्यसो गरिएको खण्डमा उक्त कदमलाई उक्साहट मानिनेछ। त्यही भएर आक्रमण टिप्पणीहरू गरिए तापनि बेइजिङ अझै पनि सावधान भइरहेको सङ्केत मिल्छ।

ताइपेइका चोकहरूमा चिनियाँ सैनिक अभ्यासलाई लिएर मिश्रित धारणा आइरहेका छन्। धेरैले आफूहरू चिन्तित नरहेको बताइरहेका छन्। तर त्यो साँचो हैन। चीनको छेउमा बस्नु भनेको भूकम्प आउने ठाउँमा बस्नु सरह हो। त्यसमा सदैव जोखिम हुन्छ तर यी अभ्यासहरू झन् झन् ठूला र खतरनाक बन्दै गएका छन्। ताइवानको सत्तारूढ डीपीपी र त्यहाँको विपक्षी दलबीच सम्बन्धमा चिसोपन छ र उनीहरूबीच संसद्‌मा पनि मतभेदहरू देखा पर्ने गरेको छ। तर चिनियाँ सैन्य अभ्यासले दुई पक्षलाई एक ठाउँमा ल्याएको छ। परम्परागत रूपमा चीन पक्षधर शक्तिका रूपमा हेर्ने गरिएको विपक्षी दल केएमटीले बेइजिङलाई संयम अपनाउन भनेको छ। अहिले यो समयमा उनीहरू पनि बेइजिङसँग मित्रवत् शक्तिका रूपमा देखिन चाहिरहेका छैनन्। यो एउटा अचम्मको विडम्बनापूर्ण अवस्था हो जसले चीनका कम्युनिस्ट नेताहरूले ताइवान र त्यहाँका मानिसहरूबारे कति कम जानकारी राख्छन् भन्ने देखाएको छ। चीनले सैनिक कारबाहीहरू पूर्ण रूपमा ‘स्वतन्त्र पक्षधर शक्तिहरूलाई कमजोर पार्न र पराजित गर्न’ लक्षित भएको बताइरहेको छ। प्रत्येक पटक चीनले सैन्य चेतावनी दिँदा डीपीपीको समर्थन वृद्धि हुने गर्छ र ‘चीनप्रति मैत्री’ भाव राख्ने केएमटीको समर्थन घट्छ। त्यसको ताजा उदाहरण ज्यानुअरीको चुनावअघिका महिनामा भएका सैन्य हस्तक्षेपहरू हुन् जसले लाईलाई सर्वोच्च पदमा निर्वाचित गराएको थियो। यदि ताइवानका नागरिकहरूलाई बेइजिङलाई चुनौती दिने दल र नेताबाट टाढै रहन धम्क्याउने उद्देश्य चिनियाँ कदमको हो भने अहिलेसम्म हेर्दा त्यसले ठ्याक्कै विपरीत प्रभाव पारेको देखिन्छ।

चीन-ताइवान सम्बन्ध

  • किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
  • के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ। (समाचार बीबीसी न्यूज नेपालीबाट साभार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर