बनेपाको चण्डेश्वरी र पाँचखालको पलाञ्चोक जात्रा सम्पन्न
काठमाडौं । बनेपा र पाँचखालमा चण्डी पूर्णिमाका अवसरमा मनाइने ऐतिहासिक जात्रा सम्पन्न भएको छ । बर्सेनि चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने बनेपाको चण्डेश्वरी र पाँचखालको पलाञ्चोक जात्रा आज सम्पन्न भएको हो ।
करिब दुई हजार पाँच सय वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रामा चण्डेश्वरी देवीलाई बनेपामा रथारोहण गराई गए राति मन्दिरमा लगेपछि जात्रा सम्पन्न भएको जात्राका जानकार एवं स्थानीय मनिष भोछिभोयाले बताए । विशेषगरी स्थानीय नेवार समुदायले मनाउने यस जात्रा बनेपालीका लागि महान् चाड दसैँ जस्तै लाग्ने उनको भनाइ छ । जात्राको पहिलो दिन बुधबार साँझ हनुमानढोकाबाट ल्याइएको तरवार (खड्ग) सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिङ्ग देवताहरुलाई १२ वटा बोका बलि दिइ ‘सरकारी पूजा’ गरेपछि औपचारिकरुपमा जात्रा सुरु भएको थियो ।
“भोलिपल्ट बिहानै हजारौँ स्थानीयको सहभागितामा मत पूजा (चिराग यात्रा) गरिएको थियो । सोही दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेँडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट) लाई स्थानीय युवाले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याएका थिए”, भोछिभोयाले भने । उनका अनुसार तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।
खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउने परम्परा रहेको स्थानीय भोछिभोयाले जानकारी दिइ । तेस्रो दिन साँझ लायकु भन्ने स्थानबाट वकुटोल हुँदै मूर्तिलाई सानो खटमा राखेर पुनःचण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने उनको भनाइ छ ।
त्यसअघि ‘कलंदान’ (बली दिएका बोकाको मासु फ्याँक्ने) गरिएको थियो । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने भोछिभोयाले बताए । उनका अनुसार बुढापाकाले टोलटोलमा बसी बिहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको घुइँचो हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढाटाढाबाट भक्तजन आउने गरेका भन्दै यसअवसरमा ‘मागेको पुग्ने’ जनविश्वास रहेको भोछिभोयाले बताए । सरकारको तर्फबाटसमेत पूजा गरिने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपालीले गर्व गर्ने उनको भनाइ छ ।
चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायत सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिने गरिएको स्थानीय एवम् जात्राका जानकार भोछिभोयाले बताए । “धार्मिक कथन एवम् किंवदन्ती अनुसार करिब २५ सय वर्ष अगाडि लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासूरलाई भगवतीका रूपमा प्रकट भई चण्डासूरको बध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माईको जात्रा मनाइँदै आइएको हो”, उनले भने ।
ऐतिहासिक एवम् आस्थाकी देवी काभ्रेपलाञ्चोकको पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णिमाका अवसरमा लागेको ठूलो मेला सम्पन्न भएको छ । नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरका रूपमा परिचित पलाञ्चोक भगवतीको मन्दिर वि.सं.४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापना भएको जानकार बताउँछन् ।
भगवती मन्दिरमा परम्परा तथा संस्कृतिको संरक्षणार्थ प्रत्येक वर्ष जात्रा मनाइँदै आइएको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले बताए । दर्शनार्थी तथा भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यस वर्ष पनि जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । जात्राको पहिलो दिन (चण्डीपूर्णिमा) को अघिल्लो दिन अर्थात् बिहीबार साँझमा बत्ती बाल्ने, दोस्रो दिन (मुख्य दिन) पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गरिएको मन्दिरका पुजारी बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार चण्डीपूर्णिमा र वडादसैँमा एकादशीको दिन रथ बनाई मन्दिर घुमाउने परम्परा रहिआएको छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५६ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको शिलालेखबाट प्रमाणित भएको थियो । पलाञ्चोक भगवतीलाई ‘भगवतीको जेठी दिदी’का रूपमासमेत चिनिने गरिएको छ ।