पाँच वर्षपछि तिब्बतको टिपताला नाका खुल्यो

काठमाडौं । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पर्ने नेपाल तिब्बतको सिमाना टिपताला कोरोना महामारीपछि चीनले एकपक्षीय रुपमा बन्द गरेको थियो। नेपाल सरकारसहितका निकायबाट निरन्तर हुँदै आएको पहल र प्रयत्नपछि बल्ल नाका खुला भएको हो। टिपताला खुला भएसँगै शुक्रबार ३० जना नेपाली तिब्बतको रिउतर्फ गएका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले व्यापारिक अभिप्रायले स्थानीय जनता सात दिनको समय लिएर रिउ गएको बताए ।

रिउका स्थानीय सत्ता तथा व्यापारीले व्यापारिक स्टल राखेको र त्यही स्टलको परिधिमा रहेर यहाँबाट गएका नेपालीले व्यापार समन्वय तथा प्रवरेद्धन गर्न पाउने आफूले बुझेको शेर्पाले बताए । शुक्रबारदेखि खुलेको नाका अब निरन्तर खुला रहने, नरहनेमा कुनै जानकारी नभएको पनि उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्रवेश अनुमति लिएर ओलाङ्चुङगोलाका स्थानीय तिब्बत गएका हुन्।

यसअघि मे ७ अर्थात् वैशाख २५ गतेदेखि नै नाका खुल्ने खबरपछि यहाँका स्थानीयले तिब्बत जाने तयारी सुरु गरेका थिए। मे ७ कै दिन ओलाङ्चुङगोलाका स्थानीय तिब्बत जानका लागि टिपताला नजिक मौवाटारसम्म पुगेका थिए। तर, उक्त दिन नाका खुला नहुने तिब्बतका तर्फबाट जानकारी भएपछि उता हिँडेका स्थानीयहरुले बिच बाटोदेखि नै फर्कनुपरेको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । वालुङका अनुसार नाका बन्द भएका कारण लामो समयदेखि आफन्त भेटघाट गर्न र अन्य काममा जान नपाएका स्थानीय तिब्बत जान आतुर थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर