दुबै सदनको बैठक अवरुद्ध, सरकार अध्यादेशको मार्गतर्फ अग्रसर

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्। बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए। सभामुखले पटक पटक बैठकलाई अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्दा पनि नटेरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्। कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बसे पनि कुरा मिल्न सकेको छैन।
यसैगरी राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि आजको बैठक सञ्चालन हुन नसकेको हो । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरूलाई आग्रह गरेका थिए ।

‘संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन । जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौँ । बजेट प्रस्तुत हुने दिन आइसक्यो । संसदको गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रियसभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ’, उनले भने । त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष दाहालले जानकारी गराए । सभाको अर्को बैठक आउँदो आइतबार बिहान ११ः३० मा बोलाइएको छ ।

यसैबीच एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सदन सुचारु गर्न तयार नभए सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउने बताएका छन्। प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै १५ गते सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको बताए। उनले भने, ‘कांग्रेसले यो संवैधानिक बाध्यता बुझ्नुपर्छ। यदि संवैधानिक बाध्यता बुझेर हाउसलाई सहज गरेर भने पनि सरकारले बजेट त ल्याउनै पर्छ। सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउनुपर्ने बाध्यता निर्माण हुन्छ। त्यसो भए त्यसको सम्पूर्ण जिम्मेवारी कांग्रेसले लिनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर