सहकारी र गिरिबन्धु काण्डलाई छायाँमा पार्न मिडिया आतंक : सांसद दुर्लभ थापा

भक्तपुर । नेपाली कांग्रेसका संघीय सांसद दुर्लभ थापाले सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्री रवि लामिछाने एवं गिरिबन्धु टि इस्टेट भ्रष्टाचारमा लिप्त केपी शर्मा ओलीको अक्षम्य गल्तीलाई छायाँमा पार्न सरकारले मिडियामा आतंक मच्चाएको बताएका छन् । रफत सञ्चार क्लबमा आज बिहीबार आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले भने, “सरकारले कान्तिपुर मिडियामा गरेको हस्तक्षेप निकृष्ट, घोर आपत्तिजनक भएकाले म त्यसको भर्त्सना गर्दछु ।”

सांसद थापाले नेपाली कांग्रेसले घोषणा गरेको सडक आन्दोलनबाट वर्तमान संविधानमा अपरिहार्य संशोधनको बाटो खुला गर्ने पनि उल्लेख गरे । उनले अहिलेकै निर्वाचन प्रणाली र यही कार्यशैली विद्यमान रहेसम्म कुनैपनि दलको बहुमत नआउने हुनाले राजनीतिक अस्थिरता रहिरहने भएकाले संविधानमा संशोधन गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए ।

सांसद थापाले संसदमा सत्तापक्षको अहिलेको रवैयाले गर्दा संसदीय इतिहासमा कालो धब्बा लागेको पनि टिप्पणी गरे । उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाले संघीय गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाको घाँटी निमोठ्ने कार्य भएको आरोप लगाउँदै भने, “सभामुखले संसदमा एक पार्टीको निकृष्ट कार्यकर्ता भएर होइन कि सभामुखजस्तो भएर निष्पक्ष, तटस्थताको सिद्धान्त अंगालेर अगाडि बढ्नु जरुरी रहेको छ ।”

केही दिन अगाडिको प्रतिनिधिसभाको बैठकको घटनाक्रम स्मरण गर्दै उनले भने, “संसदको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूप्रति जुन अभद्र व्यवहार देखाए, त्यो अत्यन्त दुःखदायी र घोर भर्त्सनायोग्य छ । ओली अहिले गिरिबन्धु भ्रष्टाचार काण्डबाट आक्रान्त्, आत्तिएका र अत्तालिएका र मात्तिएर अराजक स्थिति सिर्जना गर्नेतर्फ प्रयासरत छन् ।”

उनले प्रधानमन्त्री प्रचण्डको कांग्रेसले चुकाउनुपर्ने प्रसंग कोट्याउँदै भने, “जंगलमा रहेका माओवादीलाई शहरमा ल्याउनु के कांग्रेसको अपराध थियो ? अहिले त्यही जंगलीले कांग्रेसलाई चुनौती दिएको छ, त्यो कदापि सह्य छैन र यसैगरी ०४६ सालमा स–सना समूहमा विभा जित कम्युनिष्टलाई कांग्रेसले एकजूट पारेर प्रजातान्त्रिक आन्दोलनमा ल्याउनु के गल्ती थियो?”

उनले सहकारीका महाठग र गिरिबन्धुमाथि निष्पक्ष कारवाही नभएसम्म मुलुकमा लोकतान्त्रिक मूल्यमान्यता अगाडि बढ्न नसक्ने विचार व्यक्त गरे । उनले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु सरकारको घोर अलोकतान्त्रिक र आपत्तिजनक कार्य हो भन्दै निन्दा गरे । उनले भने, “संसदका महासचिव पदमप्रसाद पाण्डेको पनि त एउटै नम्बरका दुईटा नागरिकता रहेको सन्दर्भ छँदैछ तर सिरोहियोमाथि मात्र के–को अनुसन्धान र कारवाही ? त्यसकारण सरकारको यो हस्तक्षेपकारी कदम लज्जास्पद र घोर आपत्तिजनक छ ।”

कांग्रेसले भोलि शुक्रबारदेखि आरम्भ गर्ने सडक आन्दोलनबारे प्रकाश पार्दै उनले भने, “कांग्रेसको आन्दोलन अब गैरकम्युनिष्ट चरित्रको हुने र लोकतान्त्रिक शक्तिलाई एकजूट पार्दै अगाडि बढ्ने छ, आन्दोलनको क्रममा हिन्दु राष्ट्र वा राजावादी सबै शक्तिलाई पनि संवाहक बनाउने सम्भावना रहेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर