हजारौँको उपस्थितिकाबिच रायशीको अन्त्येष्टि

काठमाडौं ।  हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय र वरपर राईसीका प्रशंसकहरूले उनको तस्बिर बोकेर भेला भएको इरानी सञ्चारमाध्यमले देखाएका छन् ।

अजरबैजानसँगको सीमामा बाँध परियोजनाको उद्घाटन समारोहमा सहभागी भएपछि उत्तरी इरानको ताब्रीज शहर जाने क्रममा आइतबार उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा रायसी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । सरकारी टेलिभिजनले सोमबार बिहानै रायसीको निधन भएको घोषणा गरेको हो । खामेनीको उत्तराधिकारीका रूपमा सर्वोच्च नेताका रूपमा अपेक्षा गरिएका रायसी ६३ वर्षका थिए ।  राजधानीमा दिवङ्गत राष्ट्रपति रायसीलाई ‘सेवाका शहीद’ भनेर प्रशंसा गर्दै ठूल्ठूला ब्यानर टाँगिएका छन् भने उनीहरूले आफूहरू ‘विपन्नका सेवक’ नेताको अन्तिम बिदाइमा सरिक हुन उपस्थित भएको जनाएका छन् ।

विदेशी उच्चपदस्थ अधिकारीसमेतको सहभागिता रहने उक्त जुलुस विश्वविद्यालयबाट निस्केर शहरको मध्यभागमा रहेको विशाल एन्घेलाब स्क्वायरमा जाने योजना रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ताब्रिज शहर र कोम कोमको शिया लिपिक केन्द्रमा हजारौँको सङ्ख्यामा कालो पहिरनमा शोक मनाइरहेका मानिसको उपस्थितिमा दिवङ्गत राष्ट्रपति र उहाँको भ्रमण दलमा रहेको टोलीको अन्त्येष्टि संस्कार मङ्गलबारदेखि सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर