पोचेटिनोले लन्डन क्लब चेल्सी छाडे

काठमाडौं। माउरिसियो पोचेटिनोले लन्डन क्लब चेल्सी छाडेका छन्। अर्जेन्टिनाका प्रशिक्षकको नेतृत्वमा चेल्सीले पहिलो सिजन कमजोर प्रदर्शन गरे पनि लिगको अन्त्यतिर लगातार ५ जित निकाल्दै युरोपमा स्थान सुरक्षित गरेको थियो।

पोचेटिनोसँग थप एक वर्षको सम्झौता थियो। तर, उनले लामो समयदेखि कोचिङ स्टाफ  जिसस पेरेज, मिगुएल डी’अगोस्टिनो, टोनी जिमेनेज र उनका छोरा सेबेस्टियानो पोचेटिनोसँगै क्लब छोडेका हुन्। द टेलिग्राफका अनुसार टोटनह्यामका पूर्वप्रशिक्षक र चेल्सीका निर्णयकर्ताबीच कुनै विवाद नभएको बताइएको छ। सबै पक्षले आ–आफ्नो तरिकाले जाने समय सही भएको महसुस गरेको बताइएको छ।

चेल्सीले पनि आपसी सहमतिमै पोचेटिनोले क्लब छाडेको बताएको छ। ‘चेल्सी एफसी र माउरिसियो पोचेटिनोले आपसी सहमतिमा अलगगिने सहमति गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ मुख्य प्रशिक्षक नियुक्त नभएसम्म क्लबले थप कुनै टिप्पणी गर्ने छैन।’  पोचेटिनो प्रशिक्षक रहँदा चेल्सीले काराबाओ कप फाइनल, एफए कप सेमिफाइनलमा स्थान बनाएका थिए। तर, प्रिमियर लिगमा चेल्सी छैटौँ स्थानमा सीमित रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर