“सिरोहियो पक्राउ पूर्जीमा प्रधानमन्त्रीको संलग्नता छैन”

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई अहिले नै पक्राउ नगर्न मंगलबार बस्न लागेको प्रतिनिधिसभाको बैठकको केहीबेर अघि भनेको भनी सिरोहियाविरुद्धको पक्राउ पूर्जीबारे आफ्नो रक्षा गर्न खमेजेको खुल्न आएको छ। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीमा प्रधानमन्त्रीको कुनै संलग्नता नरहेको सञ्चारकर्मीहरूको जिज्ञासाको क्रममा बताए ।
‘कान्तिपुरका अध्यक्षको गिरफ्तारीमा प्रधानमन्त्रीज्यूको कुनै पनि संलग्नता छैन,’ प्रेस सल्लाहकार आचार्यले भने, ‘अदालतबाट पक्राउ पुर्जी आयो भन्ने प्रधानमन्त्रीज्यूले थाहा पाइसकेपछि उहाँले सदनमा जाने क्रममा गृहमन्त्रीजीलाई अहिले नै सिरोहियालाई नसमात्नू भन्नुभएको हो।’

यसैबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउनलाई ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरूद्ध उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरिएको बताएका छन्। धनुषा जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै उक्त कुरा भनेका हुन्।

सहकारी ठगी लगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पछि नहट्ने पनि उनले उल्लेख गरेका छन्। ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो?’ विज्ञप्तिमा उल्लेख छ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। त्यही जाहेरीका आधारमा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको हो। ‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा म तयार छु। तर राज्यशक्ति दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित हुने छैन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘सत्ता र शक्ति दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हुँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर