देवराज घिमिरे सभामुख होइन पार्टी कार्यकर्ता : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेलाई संसदमा पार्टी कार्यकर्ताको रूपमा प्रस्तुत भएको आरोप लगाएको छ । प्रतिनिधिसभा बैठकपछि सोमबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले पटक–पटक बोल्न माग गरे पनि सभामुख घिमिरेले समय नदिएर संसदमा पार्टी कार्यकर्ताको व्यवहार देखाएको बताएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले संसदमा बोल्न विपक्षी दलले प्राथमिकता पाउनुपर्ने भए पनि सभामुखले नदिएको आरोप लगाए ।

‘प्रतिनिधिसभा बैठकमा विपक्षी दलले पटक–पटक बोल्न माग गर्‍यौं। तर सभामुखजीले हामीलाई बोल्ने अवसर दिनुभएन,’ प्रमुख सचेतक लेखकले भने, ‘सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो।’ सभामुखले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ भएको आरोप लेखकले लगाए । उनले भने, ‘सत्ता पक्षको निरंकुशताको मनोवृत्ति छ। यसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुनःपुष्टि गरेको छ।’ कांग्रेस संसदीय दलले सभामुख घिमिरेको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहरसमेत गरेको छ ।

लेखकले भने, ‘सभामुखले गरिमा राख्नुपर्छ, कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा संसदमा प्रस्तुत हुने कुरा सभामुख पदका लागि शोभनीय हुँदैन।’ सोमबार प्रतिनिधिसभामा कांग्रेससहित विपक्षी दलले विरोध गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वास मत लिएका थिए। सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर