मौसम : हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका केही भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंमा पनि आज वर्षा हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका  एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बंगालको खाडीबाट जलवास्पयुक्त हावा आउन थालेकाले तापक्रम केही घट्न थालेको छ । नेपालगञ्जमा हिजो ४०.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । केही दिन अगाडि पश्चिमी तराईका केही जिल्लामा तातो हावा चलेको थियो भने तापक्रम बढेको थियो । काठमाडौंमा शनिबार यो वर्षकै हालसम्म धेरै ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर