दोषी करार गर्न खोज्नु आफूलाई मान्य नभएको गृहमन्त्रीको प्रष्टोक्ति

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लामिछानेले कुनै पत्रपत्रिका र अनलाइनमा समाचार आएको भरमा आफूलाई निरन्तर आरोप लगाएर प्रतिपक्षी दलले अन्याय गरेको गुनासो गरे ।

आफूलाई लागेको आरोपका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै मन्त्री लामिछानेले प्रहरीमा कतैपनि उजुरी नपरेको र अदालतमा पनि कतै मुद्दा दर्ता नभएको विषयलाई उठाएर दोषी करार गर्न खोज्नु आफूलाई मान्य नभएको उल्लेख गरे । गृहमन्त्री लामिछानेले कसैले समाचार लेखेको भरमा छानबिन समिति बनाउने हो भने विगतका कतिपय समाचारको विषयमा पनि सोच्न नेपाली कांग्रेसलाई सुभाए । गृहमन्त्रीले व्यक्ति केन्द्रित भएर भन्दा विषय केन्द्रित भएर छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । यसअघि, गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्ने विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले समिति बनाउने विषय दलहरुमा सहमत भएपछि आज गृहमन्त्रीलाई संसदमा बोल्न दिने निर्णय गरेको थियो ।

संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति दलहरुबीच भएपनि कार्यदलले संसदीय समितिको टिओआर कस्तो बनाउने भन्ने विषय भने टुंगो लागाउन सकेको छैन । आज पटक पटक बसेको कार्यदलको बैठकले टिओआरमा गृहमन्त्री लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा सहमति बनाउन सकेन ।

कांग्रेसले गृहमन्त्रीको नामै किटान गरेर जानुपर्ने अडान राखेको छ भने सत्तापक्षका सदस्यहरुले गृहमन्त्रीको नाम उल्लेख गर्न नहुने भनेको छ। कार्यदलको बैठकमा सहमति नभएको विषयमासमेत गृहमन्त्रीले खरो टिप्पणी गरे । पद्धतिविरुद्ध कसैलाई सिध्याउने उद्देश्य राखेर छानबिन समितिको टिओआर नबनाउन गृहमन्त्रीले आग्रह पनि गरे । गृहमन्त्रीको जवाफसँगै आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठक भोलि बिहान ११ बजे बस्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर