गृहमन्त्री रविलाई बोल्न दिने विपक्षी दलको निर्णय
काठमाडौं । विपक्षी दलको बैठकले प्रतिनिधिसभाको आज बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लामिछानेलाई संसद्को आजको बैठकमा बोल्न दिने निर्णय गरेको हो ।
प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरु हुन सकेको छैन । बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू, प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायतको सहभागिता थियो ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ । हिजो शनिबार शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ । अहिले कानूनमन्त्री पदम गिरीसहित सत्ता र प्रतिपक्षी दलका प्रतिनिधिहरूबीच संसदीय समितिको कार्यादेशबारे छलफल भएको छ ।