विश्वकपका लागि तयारी गर्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आसन्न आइसिसी टी–२० विश्वकप लक्षित अभ्यास सुरु गरेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि सन्दीपलाई अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने टी–२० विश्वकप खेलाउने तयारी गरेको छ । पाटन उच्च अदालतले बुधबार पूर्वकप्तान सन्दीपलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि तत्कालै क्यानले सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

सन्दीपले शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानको अभ्यास सेन्टरमा पुगेर तयारीसमेत गरेका थिए । सन्दीपको तयारीका क्रममा क्यानमा सचिव एवं पूर्वकप्तान पारस खड्का पनि पुगेका थिए । विश्वकपका लागि नेपाली टोली अहिले वेस्ट इन्डिज पुगेको छ । टोलीको यसअघिनै १५ जना खेलाडी समावेश छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मे २५ तारिखसम्म टोलीको खेलाडीमा फेरबदल गर्न पाउने व्यवस्था छ । क्यानले सन्दीपलाई विश्वकप खेल्न टोलीका सामेल गराउने तयारी गरिरहेको जनाएको छ । पाँच महिना मैदान बाहिर रहेका सन्दीप टोलीमा अटाउनका लागि उनी शारीरिक, मानसिक र प्राविधिक रूपले फिट हुन कोसिस गर्दैछन् । नेपाललाई विश्वकपमा छनोट गराउन सन्दीपको भूमिका उल्लेख्य रहेको थियो ।

आइसिसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ तारिख नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस्तै नेपालले समूहको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ तारिख बङ्गलादेशसँग खेल्नेछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो । विश्वकप अघि नेपालले आइसिसीले तय गरेको दुईवटा अभ्यास खेल पनि खेल्नेछ । जसअनुसार नेपालले मे २७ तारिख क्यानाडा र मे ३० तारिख आयोजक अमेरिकासँग खेल्नेछ । उक्त खेल डालासमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर