सरकार र कांग्रेसबिचको वार्ता अनिश्चित, प्रधानमन्त्रीलाई दाँतको समस्या

काठमाडौं । संसदमा कांग्रेसले जारी राखेको गतिरोधका सम्बन्धमा वार्ताको माध्यमबाट समाधान खोज्ने सत्ताधारी दल र कांग्रेसबिचको छलफल प्रक्रिया चिसो बाकस (आइस बक्स) मा गएको छ । आज पनि संसदको कारवाही अघि बढ्न नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको अग्रसरितामा प्रतिपक्षी दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ आमन्त्रण गरेका थिए । तर अचानक प्रधानमन्त्री प्रचण्डको दाँतमा समस्या उत्पन्न भएपछि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । अब छलफल कहिले हुने भन्ने जानकारी नभएको उनले बताए । यसअघि पनि प्रधानमन्त्री प्रचण्ड दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए । त्यसैको फलोअप भएको बताइन्छ । कांग्रेसका एक नेताका अनुसार सत्तापक्ष सहकारी ठगी प्रकरणलाई लम्ब्याउन चाहेको जस्तो बुझिएकाले छलफल प्रक्रियाले ठोस रुप लिन नसकेको हो ।
यसैबीच कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुनेगरी संसदीय समिति बनाउनुपर्नेमा जोड दिएको छ । संसद भवन परिसरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्नका लागि संसदीय समिति आवश्यक भएको दोहोर्‍याए। यसैगरी सत्तारुढ दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशको बाटोमा मुलुक जानेरनजाने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताएका छन् । संसद् भवनबाहिर शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले अहिलेसम्म अध्यादेशमा बजेट ल्याउनेबारे नसोचेको पनि बताए। (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर