काठमाडौं उपत्यकाको बिजुली पोल हटाउँदै प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाउँदै गरेको नेपाल विद्युत् प्राधिकरणले अब पोल सडकमा नराख्ने भएको छ । काठमाडौंका विभिन्न ठाउँमा जडान सम्पन्न भइसकेका भूमिगत विद्युत् प्रणाली केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र सो क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने प्राधिकरणको योजना रहेको जनाइएको छ ।

प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौँका पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत् जडान सम्पन्न गरिसकेकाले ती स्थानमा अबको छ महिनामा पोल हटाइने प्राधिकरणले सूचना जारी गरेको हो ।

सूचनामा भूमिगत विद्युत् प्रणाली योजना पूरा भइसकेका उल्लिखित ठाउँका बिजुली पोलमा जडान भएका सडकबत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबुल, सिसी क्यामरालगायतका संरचना र उपकरण ६ महिनाभित्र हटाउन सूचित गरेको छ । “संरचना एवं उपकरण नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत् प्राधिकरण जिम्मेवारी नहुने बेहोरासमेत जानकारी गराइन्छ,” प्राधिकरणले सूचनामा उल्लेख छ ।
प्राधिकरणले काठमाडौंमा तीन प्याकेजमा तार भूमिगत गर्ने कार्य गर्दै आएको छ । सडक विभागले समयमा अनुमति नदिँदा महत्वपूर्ण ठाउँमा काम गर्न पाएको छैन । खास गरी माइतीघरदेखि तीनकुने, त्रिपुरेश्वर सुन्धारा हुँदै लैनचौर र पुतलीसडक क्षेत्रमा सडक खन्ने अनुमति नपाउँदा काम हुन पाएको छैन ।
प्राधिकरणले यसअघि नै रत्नपार्क, चाबहिल क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु गरिसकेको छ । परीक्षणकै क्रममा रहेकाले ती ठाउँका बिजुलीका पोल हालसम्म हटाइएका छैनन् । प्राधिकरणले २०७६ सालदेखि काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने काम सुरु गरेको थियो । भूमिगत विद्युत् प्रणाली योजना अहिले काठमाडौं उपत्यकासहित पोखरा र भरतपुरमा पनि चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर