प्रतिनिधिसभाको बैठकमा कांग्रेस–एमालेका सांसदहरूबिच धकमधक्का

काठमाडौं । प्रतिनिधिसभाको आज बिहीबार अपराह्न बेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र एमालेका सांसदहरुबीच धकमधक्का भएको छ।

कांग्रेसले बैठकको सुरुमै नाराबाजी गर्दै बैठकमा अवरोध सिर्जना गरेको थियो । तर सभामुखले पत्रहरु पढ्न र गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनाव उत्पन्न भएको थियो । सभामुखले गृहमन्त्रीलाई बोलाएपछि कांग्रेसका सांसदहरु थप आक्रोशित भएका थिए । गृहमन्त्रीलाई बोल्न माइकसम्म पुर्‍याउने पहल एमालेका सांसदहरुले गरेका थिए। यसैक्रममा एमाले र काँग्रेसका सांसदहरुबीच धकमधक्का भएको हो ।

स्थित तनावपूर्ण बनेपछि सभामुखले गृहमन्त्रीलाई बोल्न होइन आसन ग्रहण गर्न आग्रह गरेका थिए । तर पनि बैठकमा नाराबाजी चलिरह्यो । सभामुख घिमिरेले बैठकमा शून्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्रहरु सुनाउनुपर्ने रहेको बताए । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समिति गठनको माग गर्दै गरिएको नाराबाजी नरोकेपछि खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विधेयक प्रमाणिकरण गरिएको पत्र पढे । लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाए । पत्र पढिरहँदा अन्य प्रतिपक्ष दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले उठेर विरोध जनाएका थिए ।

उनले राष्ट्रपतिलाई जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रतस्तु गरेकोमा धन्यवाद ज्ञापन गर्नु र अध्यादेशबाट आएका कानुनलाई टेबुल गर्नु पनि संसदको काम रहेकाले अवरोध नगर्न आग्रह गरे । त्यसपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरे । बैठक रोकिएको सूचना पछि पनि कांग्रेसका सांसदहरुले केहीबेर नारावाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर