ओलीको निशानामा कांग्रेस र न्यायाधीश : “होस पुर्‍याएर बोल्नुस, हात्तीको दुईवटा छावा बेचेका बेला श्रीमान् कहाँ हुुनुहुन्थ्यो ?”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्‍याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । आज पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेपालमा आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्‍याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् । गिरिबन्धु टि स्टेटका विषयमा कांग्रेसले आफ्नो नाम जोडेकोप्रति उनले आक्रोश पोखे ।

उनी भन्छन्, ‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विगाह, एक पटक १९ विगाह कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’ ओलीले गिरिबन्धु टि इस्टेटका सन्दर्भमा अदालतको आदेशअनुसार कानुन बनाउँदा कसरी अपरिपक्व भयो भनेर टिप्पणी पनि गरे । अदालतले हदभन्दा बढीको दिनचाहिँ मिल्छ तर यसको चाहिँ अपरिपक्वता देखियो भनेको उनको टिप्पणी थियो।

‘हामी सम्मानित अदालतको इज्जत गर्छौं, अदालतको फैसला मानेर कहिले जेल जीवन बिताएका छौं। अन्यायपूर्ण फैसला भोगेर जेल जीवन बिताएका छौं। कहिले विभिन्न मुद्दा भोगेका छौं। कहिले सत्ताबाट हटेका छौं। तर पनि हामीले अदालतलाई सम्मान गरेका छौं। गर्छौं। म आग्रह गर्न चाहन्छु। न्यायमूर्तिको कुर्सीमा बस्दा होस् अथवा रिटायर्ड भएपछि… रिटायर्ड भएपछि एकजना न्यायाधीशको हेरियो…बालुवाटार त छावा हो, हात्ती त त्यहाँ छ,’ उनले भने। त्यो हात्तीको दुईवटा छावा बेचेका बेला श्रीमान् कहाँ हुुनुहुन्थ्यो ? भन्दै ओलीले प्रश्न गरे।

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरे । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी समेत दिए । ओलीले सत्ता स्वार्थ पूरा नहुँदा कांग्रेसले संसद्‌लाई बन्दक बनाएको आरोप लगाए । उनले संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको समेत टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए । कांग्रेसले आरोप लगाईरहने र बकवास गरिरहने अनि आरोपितले बोल्न नपाउने भन्ने हुन्छ ? भन्दै प्रश्न गरे । कोही व्यक्तिलाई आरोप लगाउने तर उसलाई बोल्न नदिने कांग्रेसको अड्डी लोकतान्त्रिक नभएको बताउँदै अध्यक्ष ओलीले भन्छन्,‘कुनै माननीयमाथि व्यक्ति तोकेर छानबिन गर्न, को न्यायाधीश हुन्छ ? कांग्रेसको सांसद न्यायाधीश हुन्छ ?’ अध्यक्ष ओलीले कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप लगाउँदै हिँडेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर