अवरोध नगर्न प्रधानमन्त्रीको अनुरोध, कांग्रेस आफ्नो अडानमै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसदको बैठकमा अवरोध नपु-याउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहान बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्‍याइदिन आग्रह गरेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘प्रधानमन्त्रीजीले सत्ता गठबन्धनभित्र आफूले संसदीय समिति बनाउन प्रयास गरेको कुरा सुनाउनुभयो । र उहाँले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्‍याउन आग्रह गर्नुभएको छ,’ लेखकले भने, ‘यसपछि लगत्तै हामी संसदीय दलको बैठक बस्दैछौँ । त्यही बैठकबाट यसबारे निर्णयमा पुग्छौँ ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै अवरोध गरेको थियो ।
यसैगरी संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।

सभामुख घिमिरेले दिउँसो १२:३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन्। अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूची निर्णय गर्नुपर्नेछ। सभामुखले यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरूसँग बस्न लागेका हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर