संसद सुचारु गर्न छलफल सघन, तर गतिरोध कायमै

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीबिच टेलिफोनमा कुराकानी भएको छ । नेता ओली र सभामुख घिमिरेबिच संसद सुचारु गराउने र भोलि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम सौहार्दपूर्ण रुपमा प्रस्तुत गर्ने वातावरण बनाउने विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । कुराकानीमा अध्यक्ष ओलीले सभामुखको चासोको विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने जानकारी सभामुखलाई दिएका थिए ।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समित गठन नभएसम्म सदन चल्न नदिने अडान लिइरहेका बेला सत्तारुढ दलका मुख्य तीन शीर्ष नेताको बैठक बसेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठक सदनको अवरोध खुलाउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । यसअघि चितवनमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सदन अवरोध हटाउने विषयमा राजनीतिक दलहरु आजै सहमतिमा पुग्ने बताएको थियो ।
यसैगरी सरकारको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरे । उनले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कूटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गरे । सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए । उनले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सञ्चालन हुने उल्लेख गरे ।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखे । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिए । सभामुखले आज नै प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षसँग छलफल गरिसकेका छन् । (फाइल फोटो)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर