मधेसमा एमाले र माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, संकटमा मुख्यमन्त्री यादव

काठमाडौं ।  नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएको केही बेरमै एमालेले पनि सरकारबाट समर्थन फिर्ता लिएको हो । यसअघि आजै नेकपा एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।

(समर्थन फिर्ता लिँदै एमालेका सांसद)

एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्। मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएसँगै मधेस सरकारबाट माओवादी केन्द्र बाहिरिएको हो। मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर आज राजीनामा बुझाएका हुन् ।

लुम्बिनीमा पनि उपेन्द्रका दुई जना सांसद अलग भए

यसैगरी लुम्बिनी प्रदेशसभाका दुई जना सदस्यले नवगठित जनता समाजवादी पार्टीमा जाने निर्णय गरेका छन् । प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय घोराहीमा गएर जसपाको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी मिनु कवरले जानकारी दिइन् । अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन् ।

सरकार गठन हुदा भएको लिखित सहमति कार्यान्वयन नभएको भन्दै अहिरले मन्त्री पदबाट राजीनामा गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन् । जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएको थियो । दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएको हुन् । लुम्बिनी प्रदेशमा जसपाका तीन जना सांसद छन् । समानुपातिक सांसद अम्बिका काफ्ले भने जसपाको संस्थापन पक्षमा रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर