गगन थापाको गृहमन्त्रीलाई आयो कडा जवाफ, “प्रमाण पुर्‍याउन नसके राजनीति छोड्छु”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दावी सत्य भएको र संसदीय समितिमार्फत कांग्रेसले गरेको दावी झूटो भए आफू राजनीति छाड्न तयार जवाफ भएको बताएका छन् । हिजो शुक्रबार उपप्रधान तथा गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीमा आफ्नो संलग्नता रहेको प्रमाण थापाले प्रस्तुत गर्न सके राजनीति नै त्याग्ने होइन भने गगन थापाले राजनीति छोड्नुपर्ने चुनौती दिएकोमा उक्त चुनौतीलाई स्वीकार गर्दै थापाले आफूसँग भएको प्रमाण झूटो भए आफू राजनीति छाडन तयार रहेको जवाफ फर्काएका हुन् ।

महामन्त्री थापाले संसदीय छानविन समितिबाट सरकार भागेको आरोप लगाउँदै भने, “गृहमन्त्रालयले सवै प्रमाण लुकाउने काम गरिसकेको छ, । महान्यायाधिवक्ताको कार्यालयको दुरुपयोग गरेर सबै प्रमाण नष्ट गरिसकेका छन् । तर त्यसको अतिरिक्त कांग्रेससँग रहेको प्रमाणले नै रवि ठगीमा संलग्न रहेको पर्याप्त पुष्टि गर्दछ ।”

सञ्चारकर्मीहरूलाई गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रतिक्रिाया दिँदै उनले भने, ‘छानबिन गर्दा राजीनामा पनि चाहिँदैन । गृहमन्त्री भएर प्रमाण लुकाइसक्नु भयो । जे जति कुरा गर्नुपर्ने थियो उहाँले गरिसक्नुभएको छ । तथ्य, प्रमाण तोडमोड गरिसक्नुभयो । त्यसैले हामीलाई राजीनामा पनि चाहिँदैन । तर त्यति तोडमोड गर्दै गर्दापनि यति तथ्य प्रमाणहरू छन् कि, जसको आधारमा हामी जे कुरा भनिरहेका छौँ, त्यसको पुष्टि हुन्छ भन्नेकुराको हामीलाई शतप्रतिशत विश्वास छ । त्यसकारणले गर्दा संसदीय छानबिन समिति सरकारले नबनाइकन पेलपाल गरेर अब हामी नीति, कार्यक्रम ल्याउँछौँ । अब हामी बजेट ल्याउँछौँ भनेर उहाँहरूले सोच्नुभएको छ भने अहिलेसम्म संसदभित्र छ, संसदभित्र मात्रै विषय सीमित रहँदैन् । हामीले उठाएको विषयलाई सरकारले यसैगरी पेलेर लाने सोच बनायो भने संसदबाट सडकमा आउँछ । थप सरकारले त्यही ढंगको सामना गर्ने कुरामा तयार रहनुपर्छ । म त छोडिदिन्छु भनिसके त । उहाँले कहिले काठमाडौं क्षेत्र नं. ४ मा आउँछु भन्नुहुन्छ, त्यहाँ पनि आउनुस् । बागमतीमा नुहाउँछु भन्नुभयो नुहाउनुस् । छोड्दिनुस् भने छोडिदिन्छु । चुनौती त मैले स्वीकार गरिहालेँ । त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिङ्गो नेपाली कांग्रेस पार्टीलाई त्यसले कति क्षति पुर्‍याउँला ? कत्रो ठूलो लज्जाको विषय होला ? कत्रो ठूलो विश्वसनियताको प्रश्न आउँला ? सिङ्गो नेपाली कांग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतीको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर