अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको : मन्त्री यादव

भक्तपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अब नेकपा माओवादी केन्द्र पार्टीको फुट्ने पालो भएको बताएका छन् ।
रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले आफ्नो पार्टीलाई फुटाउने माओवादी केन्द्र अब त्यसको शिकार हुने भनी आक्रोश व्यक्त गरे ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले भने, “हाम्रो पार्टी फुटाउने माओवादी केन्द्र नै हो भन्ने पुष्टि प्रधानमन्त्री प्रचण्डले हिजो सिन्धुली पुगेर प्रष्ट पारिसकेका छन्, प्रधानमन्त्रीले हिजो सिन्धुलीको एक कार्यक्रममा गर्वका साथ आफ्नो सरकार टिकाउन जसपा फुटाएको बताए । अब त्यस कुकृत्यको शिकार  माओवादी आफैँ हुनेछ ।”
पार्टीभित्र कुनै विवाद, असन्तुष्टि र कारण नभएको अवस्थामा आफू सरकारकै प्रतिनिधित्व गरेर विदेश गएको अवस्थामा यता पार्टी फुटाउने षड्यन्त्र भएको भन्दै उनले माओवादीलगायत अन्य पार्टीहरू पनि फुट्ने क्रममा रहेको दाबी गरे ।
पार्टी फुटाउने नेताहरुलाई मागेजति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दैै उनले भने , “काठमाडौंमा ती सय भोट आएको भएपनि समोशीतर्फबाट राजेन्द्र श्रेष्ठलाई यसअघि मन्त्री बनाएकै हो, नवलकिशोर साह अहिले पनि मन्त्री छन्, अशोक राईलाई सांसद र मन्त्री बनाएकै हो, उनकी श्रीमतीलाई सांसद बनाएकै हो, त्यहाँभन्दा माथि के गर्न सकिन्छ र ? अब अरू पार्टीमा जान बार्गेनिङ गर्न खोज्दैछन्, यिनका गन्तव्य एमाले वा माओवादी नै हो ।”
पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने बताउँदै उनले भने, “म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षड्यन्त्र गरेर पार्टी फुटाइयो, पार्टी फुटाएको विषयलाई लिएर हामी आइतबारसम्म सर्वोच्चबाट कानूनी रूपमा चुनौती दिनेछौं, सर्वोच्चले पक्कै न्याय दिनेछ र पार्टी फुटलाई बदर गर्नेछ ।”
पार्टी फुटाएको विषयलाई केटाकेटीपनको संज्ञा दिँदै उनले षड्यन्त्रपूर्वक अस्वाभाविक, सिद्धान्तविहीन रूपमा अनैतिक र असंवैधानिक कार्य गरेकाले सर्वोच्च अदालतले पार्टी फुटलाई बदर गर्ने विश्वास रहेको बताए ।
नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दवाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले दाबी थियो ।
पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने मन्त्री यादवले बताए । उनले भने, “हाम्रो प्रयास हिजो पनि, आज पनि स्थिर सरकार र स्थिरता, खोजेका हौँ, हामी त्यो दायित्वबाट पछि हट्दैनौ, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौं ।” आफ्नो पार्टीले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र संघीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा आफ्नो पार्टी नलाग्ने उनको प्रस्टता थियो । पार्टी फुटाएर लोकतन्त्र कमजोरी पार्ने, देशलाई अस्थिरता ल्याउन र अन्य पार्टीसँग बार्गेनिङ गरेर एमाले र माआोवादी पार्टी प्रवेश गर्ने तयारीमा रहेको दाबी गरे । रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाको सभापतित्वमा भएको कार्यक्रममा उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाकाबारेमा जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर