रियल म्याड्रिड र बौउरुसिया डर्टमुण्ड फाइनलमा

काठमाडौं ।  युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि रियल म्याड्रिड र बौउरुसिया डर्टमुण्ड भिड्ने भएका छन्। बुधबार राति भएको खेलमा रियल म्याड्रिडले अन्तिम समयमा नाटकीय पुनरागमन गर्दै बार्यनविरुद्ध २-१ को जित निकाल्यो। जितसँगै समग्रमा ४-३ ले विजयी हुँदै रियलले फाइनलमा स्थान बनायो। एक गोलले पछि परेको अवस्था उल्टाउने क्रममा उसका लागि सब्टिच्युट जोसेलु नायक सावित भए। ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले ८८ र इन्जुरी समयमा गोल गर्दै रियललाई २-१ को जित दिलाए।

रियलविरुद्ध बार्यनले ६८औं मिनेटमा अल्फोन्सो डेविसको गोलमा अग्रता लिएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ह्यारी केनको पासलाई उनले सदुपयोग गर्दे पाहुना टोलीलाई अग्रता दिलाए। डेविस २७औं मिनेटमा सर्ज गन्याब्रीलाई चोट लागेपछि उनको ठाँउमा मैदान प्रवेश गरेका थिए। ७१औं मिनेटमा रियलका कप्तान नाचोले गोल गरेपनि उनले जोशुवा किमिचमाथि गरेको फाउलका कारण उक्त गोल रद्द भएको थियो। तर ८८औं मिनेटमा रियलले खेलमा बराबरी गर्‍यो। भिनिसियस जुनियरको प्रहार गोलरक्षकले नियन्त्रणमा लिन नसकेको बललाई जोसेलुले जाली चुमाउँदै रियललाई खेलमा फर्काए।

इन्जुरी समयको पहिलो मिनेटमा जोसेलुले अर्को गोल थप्दा बार्यन स्तब्द बन्यो। एन्टनियो रुडिगरको क्रसमा उनले ब्यक्तिगत दोस्रो गोल गरेका थिए। उनको गोललाई रेफ्रीले अफसाइडको करार गरेपनि भिएआरको सहायतामा निर्णय बदलिन पुग्दा बार्यनको सम्भावित बराबरीको सम्भावना सकिएको थियो। यसअघि बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो। बायर्नले घरेलु मैदानमा पनि खेलको अन्तिम समयमा अग्रता गुमाउन पुगेको थियो। १४ पटकको च्याम्पियन रियलले अब उपाधिका लागि अर्को जर्मन टोली बोरुसिया डर्टमुण्डसँग १ जुनमा वेम्बली मैदानमा खेल्ने छ। डर्टमुण्डले पिएसजीलाई समग्रमा २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर