कांग्रेस–एमालेको संयुक्त सरकार बनाउनुपर्ने धारणा वलवती छ : लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखकले अहिलेको सरकार समीकरणमा एमालेभित्र पनि असन्तुष्टि रहेको दाबी गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभाष र आशंका रहेको विचार प्रकट गरे ।

‘नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ’, उनले भने, ’जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन्।’ कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको लेखकको भनाइ रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नै सहकारी छानबिनको विषयमा सकारात्मक धारणा आएको दाबी गर्दै उनले त्यसका लागि कांग्रेस पनि सकारात्मक रहेको बताए। उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत् रहेको वक्तव्य दोहार्‍याए ।
‘सहकारीको रकम अवचलन भएकोलगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्,’उनले भने, ‘हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौं।’ आगामी वैशाख २८ गते संसद् बैठक सुरु हुनुअघि उक्त विषयलाई सरकारी पक्षले सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ ‍थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर