पोखरामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
काठमाडौं । पोखरामा एकै दिन दुई जना बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी दुई छुट्टाछुट्टै घटनामा ती बालकले ज्यान गुमाएका हुन् । पोखरा महानगरपालिका वडा नं. १८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्नेक्रममा स्याङ्जा स्थायी घर भई हाल पोखरा ५, मालेपाटन निवासी वर्ष १४ का सोनम सुवेदीको ज्यान गएको हो । उनी १५ वर्षीय साथी सञ्जय कार्कीसँगै पौडी खेल्न त्यहाँ पुगेका थिए ।
आइतबार दिउँसो सोनम डुबेको थाहा पाएपछि उद्धारका लागि खटिएको प्रहरी टोलीले उनलाई दिउँसो साढे २ बजे मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले जानकारी दिए । उता, पोखरा १७, पावरहाउस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १६ वर्षीय सुप्रिम पौडेलको मृत्यु भएको छ । जनप्रिय मावि कक्षा १० अध्ययनरत उनी पोखरा नागढुंगा निवासी हुन् ।