सुदूरपश्चिममा सत्ता किचलो, विश्वासको मत नपाउने छाँटकाँट देखिएपछि बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने सम्भावना नभएपछि आज शुक्रबारका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

गठबन्धन दल नेकपा एमालेले आज विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि, आज बेलुका ५ बजे विश्वासको मत लिने तय भएको थियो । तर, उनले विश्वासको मत नपाउने अवस्था बनेपछि आज बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

अर्को बैठक भोलि बेलुका ५ः३० बजेका बोलाइएको छ । नेकपा एकीकृत समाजवादीका सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्तिका अध्यक्ष पक्षका दुई जना प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीलेले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान छ ।

रेशम र रञ्जिता पक्ष समूहमा सांसद विभाजित नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले पनि मुख्यमन्त्रीलाई अफ्ठ्यारो पारिरहेको छ । आज मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले निर्देशन नै जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीमा रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।

प्रदेशमा बहुमत प्राप्त गर्नका लागि २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेमा गठबन्धन दल एमालेका ११, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य दुई, एकीकृत समाजवादीको चार सदस्य रहहेका छन् । एक स्वतन्त्रसमेत गरेर मुख्यमन्त्रीलाई २८ जना प्रदेशसभा सदस्यको समर्थन भने अहिले देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर