सुकुम्बासीमाथि डोजर आतंक र ज्यादती नगर्न मेयर बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन काठमाडौं महानगरका प्रमुख बालेन साहलाई आग्रह गरेका छन् । ओलीले सुकुम्बासीको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए । काठमाडौं महानगरपालिकाले लालपुर्जा नभएको भन्दै सुकुम्सीबासी बस्तीहरू डोजर लगाएर हटाउने कामलाई मेयर बालेन साहले निरन्तरता दिइरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान सुरु गर्नुपर्ने बताएका हुन् ।

ओलीले भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार आयोजित कार्यक्रममा सुकुम्बासीको घरहरू भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्नेमा जोड दिए । उनले मेयर साहलाई सुकुम्बासीमाथि ज्यादती नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरूलाई हेप्ने ? भनी प्रश्न पनि गरे । उनले भने, ‘सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौं । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नेतिर लाग्न आवश्यक छ । सुकुम्बासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरुको व्यवस्थापनतर्फ लाग्न आवश्यक छ ।’

जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिबविरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए । उनले भने, ‘अहिले हामी सरकारमा आएका छौं । तर विभिन्न बहानामा कर्मचारीतन्त्र वधक बनिरहेका छन् । जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’

आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्नेमा विशेष जोड दिए । उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । म प्रधानमन्त्री हुँदा भनेको थिएँ कि भोकमरीले कोही मर्दैनन् । अर्कोपटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दा पनि सरकार चलाएको छु भन्न मिल्छ ? देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाउ भन्न मिल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर