विदेशी लगानी आउने आशा र विश्वासका साथ सम्मेलन सम्पन्न

काठमाडौं । सरकारले काठमाडौंमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन सोमबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरे ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको बताए । सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उनले दाबी गरे ।

“तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त गरेका छौँ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा हाम्रा प्राथमिकता र सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक रुचाइएको तथा आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भएका छौँ”, भट्टले भने, “आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित कूल एक सय ५४ परिरयोजना प्रस्तुत गरिएको थियो । यसबाहेक विभिन्न चरणमा रहेका अरू परियोजना पनि प्रदर्शन गरेका छौँ ।”

सम्मेलनका क्रममा लगानीकर्ताहरुसँग महत्वपूर्ण छलफल भएको पनि प्रमुख कार्यकारी अधिकृत भट्टले बताए। “प्रधानमन्त्री र अर्थमन्त्रीसँग लगानीकर्ताको प्रत्यक्ष छलफल र साक्षात्कार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्र एक दर्जनभन्दा बढी प्रत्यक्ष बैठक बसेका छन्”, उनले भने, “विश्व बैङ्क समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् ।”

यो सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गरेको जिकिर पनि प्रमुख कार्यकारी अधिकृत भट्टले गरे । लगानीकर्ताहरु नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उनको भनाइ छ । “लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउन लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्”, उनले भने।

सम्मेलनका क्रममा आयोजना भएका विभिन्न सत्रले नेपालको लगानी परिदृश्य उजागर गरेका गरेको उहाँको भनाइ छ । “सम्मेलनका क्रममा पहिचान र सृजना भएका व्यावसायिक अवसरले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचुर सम्भावना पेस गरेको छ । लगानीसम्बन्धी ऐनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको निरन्तर चासो र अनुरोधलाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनलगायत लगानीसम्बन्धी ऐन संशोधन गरेको छ भन्ने सन्देश हामीले दिएका छौँ,” भट्टले भन्नुभयो, “सम्मेलनको माध्यमबाट विश्व लगानी समुदायका लागि नेपालमा उपलब्ध प्रचुर सम्भावनामा लगानी आकर्षित गर्ने क्षमता मात्र होइन, सुधारिएको लगानीको वातावरण पनि प्रदर्शन गरेका थियौँ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर