दैलेखको पेट्रोलियम अन्वेषण आयोजनाले तीव्र गति लिँदै

काठमाडौं । खानी तथा भू–गर्भ विभागको पेट्रोलियम पदार्थ अन्वेषण आयोजनाका प्रमुख दिनेश नापितले केही समययता दैलेखमा पेट्रोलियम अन्वेषणको कामले निकै तीव्रता पाएको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटीको तेस्रो अधिवेशनको तयारीका सन्दर्भमा आयोजना स्थलमा आयोजित बैठकमा आयोजनाको प्रगतिका बारेमा जानकारी दिँदै नापितले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को क्रममा स्थलगत भ्रमणपश्चात् अन्वेषणको कामले अनपेक्षित गति पाएको उल्लेख गरे । सन २०१९ मा चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा चिनियाँ जियोलोजिकल सर्वे विभाग र नेपाल सरकारबीच भएको द्विपक्षीय सम्झौतापश्चात् सुरु गरिएको अन्वेषणको काम बीचका केही अन्योल जस्तै बनेको थियो ।

जलजलेदेखि पादुकासम्मका विभिन्न क्षेत्रमा सतहम त्यसै ज्वाला बलिरहेपछि त्यसलाई आधार मानेर गरिएको सर्वेपछि सबैभन्दा बढी पेट्रोलियम पदार्थ र ग्यास पनि हुनसक्ने प्रारम्भिक अध्ययनको निचोडका आधारमा जलजलेलाई बोरिङका लागि छनोट गरिएको थियो । यस क्षेत्रमा ४ किलोमिटर गहिराइसम्म ड्रिल गर्ने कामको तयारी भइरहेको छ । ड्रिलिङ गर्ने काम सकिएपछि पेट्रोलको परिमाण कति छ ? र ग्यासको मात्रा पनि एकिन गर्ने कामका लागि चिनियाँ र नेपालको खानी तथा भू–गर्भ विभागको प्राविधिक टोलीले काम गरिरहेको आयोजना प्रमुख नापितले बताए ।

चिनियाँ प्राविधिकले गरेको पेट्रोलियम पदार्थको अन्वेषणको अन्तिम प्रतिवेदन आगामी २०८१ फागुन १६ गतेभित्रमा तयार हुने आयोजनाले बताएको छ । ड्रिल कार्यका लागि अन्वेषण स्थलमा अहिले १३८ वटा ट्रकमा सामान ल्याइपुर्‍याइएको छ । यसमा केही थप भएर १६० वटा ट्रकमा सामान आइपुगेर सेटिङ गर्ने काम सकिएपछि अबको १५ दिनभित्रमा ड्रिलिङ गर्ने कार्य सुरु हुने बताउँदै आयोजना प्रमुख नापितले काम सुरु भएको  दिनबाट तीन सिफ्टमा काम गरेर अबको ४ देखि ६ महिनाभित्रमा परिणाम निकाल्ने सुरसारमा आयोजना रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर