चीनको तिब्बतबाट प्राप्त हुने सहायताबारे बैठकमा छलफल

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर बुधबार सम्पन्न बैठकमा छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो ।

दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका उक्त महावाणिज्य दूतावासले जनाएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गरेको थियो भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले बुधबार न तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेङ्कीसँग शिष्टाचार भेट गरे । त्यसअवसरमा आपसी हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको थियो । सहायता परियोजनाको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा आगामी महिना आयोजना गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर