नेपाल एरा ऐकेडेमीमा तत्काल विद्यार्थी भर्ना रोक्न १३ संस्थागत विद्यालयको माग

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ दार्जिलिङ हाइटमा सञ्चालित नेपाल एरा ऐकेडेमीले गैरकानुनी रूपमा शैक्षिक भर्ना कार्यक्रम चलाइरहेकोमा त्यसका विरुद्ध १३ वटा अन्य संस्थागत शैक्षिक संस्थाले शैक्षिक भर्ना कार्यक्रम तत्काल बन्द गर्न माग गरेका छन् ।

१३ वटा संस्थागत शैक्षिक संस्थाहरूका तर्फबाट बिहीबार रफत सञ्चार क्लब भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा रुबी भ्याली स्कुलका प्रिन्सिपल रत्न राईले नेपाल एरा ऐकेडेमी पहिले भक्तपुर नगरपालिकामा सञ्चालन भइरहेको बुझिएको र स्थानान्तरण अनुमति तथा सूनपा–८ स्थित नजिकमा रहेका विद्यालयहरूको स्वीकृति नलिई एकतर्फी रूपमा विद्यार्थी भर्ना अभियान चलाउनु गैरकानुनी मात्र नभई त्यस विद्यालयमा पढ्न जाने विद्यार्थीको भविष्यसमेत अन्योलमा रहने स्पष्ट पारे ।

प्रिन्सिपल राईले ऐकेडेमीको गैरकानुनी क्रियाकलापका विरुद्ध सूनपाका प्रमुख वासुदेव थापालाई भेटेर विषयवस्तु अवगत गराउँदा प्रमुख थापाले नगरको शिक्षा कानुनविपरीत कुनै पनि विद्यालय सञ्चालन गर्न आफूले रोक लगाउने आश्वासन दिएको जानकारी दिए ।

राईले भने, “उक्त विद्यालयको नाम हामीलाई थाहा भएअनुसार पारामाउन्ट हो र भक्तपुर नगरपालिकामा सञ्चालित थियो । अनुमति पूर्व प्राथमिक कक्षासम्म मात्र भएको, सूनपा–७ मा सञ्चालन भएपनि भक्तपुर नगरबाट स्थानान्तरण पत्र नल्याइएको र हाल सूनपा–८ दार्जिलिङ हाइटमा नजिकका विद्यालयको सहमति नलिई स्थानान्तरण नगरी र अनुमति पनि प्राप्त नभएको कक्षामा भर्ना अभियान सञ्चालन गरेको थाहा हुन आएको हुँदा सो विद्यालय नगरपालिकाको नियमानुसार प्रक्रिया पु¥याई आएको हो होइन ? भनी जान्न बुझ्न चाहेका छौं । हामीले जाने बुझेसम्म २०७७ साल असारमा सूनपामा कर तिरेर नवीकरण गर्न लाग्दा नगरपालिका शिक्षा शाखाले उक्त विद्यालय सूर्यविनायक नगरपालिकामा छैन भनी नवीकरण गराएको थिएन । हाल शिक्षा शाखाले कुनै पनि बैठकमा उक्त विद्यालयको विषयमा स्थानान्तरणसम्बन्धी विषयउपर छलफल गरी हालको स्थानमा सञ्चालन गर्न दिने निर्णय नगर्दै सञ्चालन गरेको, सूनपाले जारी गरेको सूचनाविपरीत भर्ना गर्दा अन्य विद्यालयबाट आएका विद्यार्थीसँग ग्रेड सिट र स्थानान्तरण पत्र पनि नमागी भर्ना गरिरहेको पाइएको छ । यसर्थ नगरपालिकको विधि, प्रक्रियाविपरीत सञ्चालित विद्यालयको स्थानान्तरण र भर्ना प्रक्रिया रोकी पाउँ भनी सम्बन्धित निकायसँग हार्दिक निवेदन गर्दछौं ।”

राईले थपे, “एक त गैरकानुनी रूपमा स्कुल सञ्चालन गर्ने अर्कोतर्फ ऐकेडेमीका सञ्चालक भारतको कालिङपोङ निवासी सहदेव राई नाम भएकाले उनले नेपालको प्रचलित कानुनी मान्यतालाई धज्जी उडाएर जबर्जस्ती गर्न खोज्नु हामीलाई मान्य नभएको बेहोरा अवगत गराउन चाहन्छु । यस्ता ऐन, नियमविपरीतका क्रियाकलापलाई तत्काल बन्द गर्न म सम्बन्धित निकायमा नम्र निवेदन गर्दछु ।”

उनले नेपा एरा एकेडेमीलाई पहिलेदेखि सूनपा–७ मा सञ्चालन भइरहेको भन्ने कृत्रिम मान्यता प्रदान गर्न हाल केही स्थानीय वासिन्दा र जनप्रतिनिधिलाई सम्मिलित गरेर मुचुल्का खडा गर्ने प्रपञ्च रचिरहेको सुन्नमा आएको बताए ।
शिक्षाकर्मी देवानन्द त्वातीले कुनैपनि विद्यालय सञ्चालन गर्न कानुनअनुसार कि त गुथीमा जानुपर्ने वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने हो तर नेपाल एरा ऐकेडेमीले कानुनबमोजिम उक्त दुबै प्रावधान पूरा नगरेकाले यस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले तत्काल आवश्यक कारवाही गर्न जरुरी रहेको बताए ।
नेपाल एरा ऐकेडेमीको विरोधमा उत्रिएका संस्थागत विद्यालयहरूमा रुबी भ्याली ऐकेडेमी, ज्योतिज्ञान ऐकेडेमी, प्रसादी पाठशाला, हिमशिखर इ, सेकेन्डरी, शरस पाठशाला, मदल्यान्ड इ. बो. स्कुल, ग्लोबल ऐकेडेमी, विमल मेमोरियल विद्यापीठ, स्टुडेन्ट ऐकेडेमी, ह्वाइट रोज स्कुल, सेन्ट जोन स्कुल र लिटिल ट्रेजर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर