पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा लाखौं दर्शनार्थी सहभागी

काठमाडौं । सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेका छन् । आयोजक समितिले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेको थियो । दैनिक रुपमा दर्शनार्थी बढ्दै गएकाले आयोजकले लिएको लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी हुनसक्ने अनुमान गरिएको छ । दैनिक रुपमा दर्शनार्थी बढ्दै गएको र दिनानुदिन गर्मी अत्यधिक बढेसँगै व्यवस्थापनमा अझ केही थप गरेर सरसफाइसँगै दर्शनार्थीका लागि सबै ठाउँमा पानीको व्यवस्था र खाना बस्नको सुविधा राम्रो तयार पारेर अगाडि बढिरहेको मूल आयोजक समितिका सहअध्यक्ष तथा बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालका विभिन्न ठाउँबाट मात्र नभएर बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका अन्य सबै जिल्लाबाट दर्शनार्थी आइरहेको उनले बताए । त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाट समेत उल्लेख्य रुपमा दर्शनार्थी आइरहेको र अमेरिका, अष्ट्रेलिया, क्यानडालगायका देशहरुबाट भक्तजन मात्र नभएर धर्मगुरुसमेत आएको जनाइएको छ । बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गतेदेखिसुरु भएको महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर