लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
काठमाडौं । आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिने छन् ।
आजको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि रु नौ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव गरेको छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्याङ्कन पश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नबनाई बढीभन्दा बढी नतिजामुखी बनाउन निर्देशन दिनुभयो । स्वदेशी, विदेशी तथा निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयले विशेष एकाइ बनाएर अघि बढ्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था र तेस्रो लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएको थियो । लगानी सम्मेलन यही वैशाख १६ र १७ मा हुँदैछ ।