गौहत्यामा संलग्नहरुलाई कडा कारबाही गर्न माग

काठमाडौं । धार्मिक तथा सामाजिक सद्भाव समिति नेपालगन्जले गौहत्यामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको छ । हिन्दु र मुस्लिम समुदायका अगुवाहरु आवद्ध रहेको संस्था धार्मिक तथा सामाजिक सद्भाव समिति नेपालगन्जले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई एक ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका १४ मा भएको गौहत्यामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गर्दै समितिले कुनै व्यक्ति विशेषले गरेको अपराधलाई जोडेर समग्र समुदायलाई लक्षित नगर्न आग्रह गरेको छ । ‘व्यक्ति विशेषले गरेको अपराधलाई सिङ्गो समुदायलाई जोड्नु गलत हो । अपराध गर्ने व्यक्ति कुनै धर्म र समुदायको हुन सक्दैन,’ समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

समितिले बाँकेमा धार्मिक सद्भाव कायम गर्न अपिल समेत गरेको धार्मिक तथा सामाजिक सद्भाव समितिका अगुवा हाजी अब्दुल हमिद सिद्दिकीले गौहत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै त्यस्ता घट्ना हुन नदिन चनाखो रहन प्रशासनलाई आग्रह गरिएको बताए । समितिका अर्का अगुवा दीपक राजपुत लोधले धार्मिक संहिष्णुताले मात्र सभ्य एवम् मर्यादित समाज निर्माण हुने बताउँदै समितिले धार्मिक तथा सामाजिक सद्भावमाथि खलल पुर्‍याउन खोज्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेको बताए ।

धार्मिक तथा सामाजिक सद्भाव समितिको तर्फबाट मुस्लिम अगुवाहरु हाजी अब्दुल हमिद सिद्दिकी, हाजी कदिर अन्सारी, हाफिज अहमद साहव, मेराज अहमद र हिन्दु समुदायको तर्फबाट महाराज श्रीकान्त मिश्रा पण्डित, दीपक राजपुत लोध, प्रकाश खड्का र विमल केसीले बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलललाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाका शान्ति, सदभाव र अमन बनाईराख्न सबैसँग आग्रह गर्दै कानुन उल्लङ्घन गर्ने जो कोहीलाई पनि प्रशासनले कडा कारवाही गर्ने बताए । यसैबिच नेपालगन्ज उपमहानगरपालिका १४ बालेगाउँमा गौहत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले गौहत्या गरेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर