वर्तमान सत्ता गठबन्धनप्रति माधव नेपाल आक्रोशित
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन् । स्वर्गीय वामपंथी नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज बिहान राजधानीमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको टिप्पणी गरे ।
अध्यक्ष नेपालले नेकपा एस कसैका धाकधम्की, गालीगलौज सुन्नका लागि राजनीतिमा नआएको स्पष्ट पारे । वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने उहाँले आशङ्का समेत व्यक्त गरे ।
उनले भने, ‘नेपालको राजनीति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ,’ अध्यक्ष नेपालले भने, ‘मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’