एमालेको सम्पत्ति नैतिकता, शुद्ध आचरण र इमानदारी भएको दावी

काठमाडौं । नेकपा एमालेको ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रण गर्न सहभागीहरूले जोड दिएका छन् ।

पार्टीका महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका बारेमा पनि नैतिक प्रश्न र गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । “एमालेको विशेषता भनेको यसका नेता र कार्यकताहरु सरल, नैतिकवान् चरित्रवान् र जनपक्षीय हुनु हो । यसप्रकारको विशेषताले हाम्रो पार्टीलाई अरु पार्टीभन्दा फरक र विशिष्ट बनाउने काम गरेको छ । पछिल्ला समयमा हाम्रो पार्टीका नेता र कार्यकताबारे सार्वजनिक रुपमा टिकाटिप्पणीहरु सुनिने तर त्यसका बारेमा कुनै सुनुवाइ नभइरहेको अवस्था देखिन्छ”, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइँदा इमान्दार पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यसप्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिवेदनमा पार्टी नेता तथा कार्यकताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिकवान हुनुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत र वडामा न्यूनतम ३ प्रतिशत पार्टी सदस्यता बिस्तार गर्ने उल्लेख छ ।

पार्टीले युवालाई नेतृत्व विकास गर्नका लागि प्रत्येक गाउँपालिकाले ५० जना, नगरपालिकाले एक सय जना, उपमहानगरले एक सय ५० जना र महानगरले दुई सय जना युवा पहिचान गर्दै नेतृत्व विकासको लागि प्रशिक्षण प्रदान गरी पार्टीको काममा लगाउन्पर्ने उल्लेख गरिएको छ । अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदनमाथि विभिन्न ६ समूहमा छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर