गण्डकी प्रदेशसभाको अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । प्रमुख प्रतिपक्षी कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अनुपस्थित भएपछि सभामुख कृष्ण धितालले बैठक स्थगित गरेका हुन् ।

‘जीवनाशक विषादी व्यवस्थापनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ विनाविभागीय मन्त्री हरिबहादुर चुमानले प्रस्तुत गर्ने कार्यसूची थियो । विपक्षी दलहरु अनुपस्थित हुने भएपछि निर्धारित समयभन्दा एक घन्टा ढिला सुरु भएको बैठक करिब पाँच मिनेट चलेर स्थगित भएको हो ।

त्यसअघि, शुक्रबार दिउँसो भएको कांग्रेस संसदीय दलको बैठकले गण्डकीको सदन बहिष्कार गर्ने निर्णय गरेको थियो । सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवम् गैरकानुनी रुपमा गठन भएको दाबी गर्दै कांग्रेसले बैठक आह्वान नै अवैधानिक भएको जिकिर गरेको छ ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म कांग्रेस प्रदेशसभा बैठकमा सहभागी नहुने बताएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई वेवास्ता गर्दै प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम भएको नेता पाण्डेको टिप्पणी छ ।

शुक्रबारको बैठकमा राप्रपाका सांसदहरु पनि अनुपस्थित रहे । गण्डकीमा सरकार गठनका लागि सभामुखलाई गणना भएपछि कांग्रेस सर्वोच्च अदालत गएको छ । यो मुद्दामा यही वैशाख १० गते पूर्ण सुनुवाइ हुने तय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर