मुम्बई इन्डियन्सले पञ्जाबलाई ९ रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले सातौं खेलमा तेस्रो जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा मुम्बईले पञ्जाबलाई ९ रनले हराएको हो। जितपछि मुम्बई ६ अंकका साथ सातौं स्थानमा रहेको छ।  मुलनपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो। १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब ५ बल बाँकी हुँदै १ सय ८३ रनमा अलआउट हुँदा मुम्बईले ९ रनको जित निकाल्यो।

१४ रन जोड्दा ४ विकेट गुमाएको पञ्जाबले ४९ रनको अवस्थामा आधा खेलाडी गुमाएको थियो। खराब सुरुवातका बाबजुत उसका लागि आठौं नम्बरमा ब्याटिङका लागि आएका आसुतोष शर्माले २८ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, शशांक सिंहले ४१ रन बनाउँदा हरप्रित सिंहले १३ तथा हरप्रित ब्रारले २१ रन बनाए। अन्तिममा ब्याटिङका लगि आएका कागिसो रबडा ३ बलमा १ छक्कासहित ८ रन बनाएको अवस्थामा मोहम्मद नाबीको बलमा इशान किसन द्वारा रनआउट हुँदा पञ्जाब सम्भावित जितबाट बञ्चित बन्यो। पञ्जाबविरुद्ध मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोट्जेले समान ३-३ विकेट लिँदा आकाश मढवाल, हार्दीक पाण्ड्या र श्रेय्यस गोपालले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बका लागि सूर्यकुमार यादवले ५३ बलमा ७८ रनको सानदार अर्धशतकीय इनिङ खेले। त्यस्तै, रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्मा ३४ रनमा नटआउट रहे। त्यस्तै, हार्दिक पाण्ड्याले १० तथा टिम डेभिडले १४ रन बनाएका थिए। लिगअन्तर्गत आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स भिड्दैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर