चैत्राष्टमीको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । आज चैते दसैँ । आज बिहानैदखि देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । यसैक्रममा, बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ ।
भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोका)क्षा पूरा हुने जनविश्वास छ ।

धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताए । मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो ।

चितवनका विभिन्न शक्तिपीठमा मेला

चैत्र शुक्ल अष्टमी र रामनवमीको अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सम्पन्न हुने भरतपुर महानगरपालिका–२३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिए । विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति र सुखशान्ति हुने जनविश्वास छ ।
चितवनको माडी नगरपालिका माडी–१ स्थित गोद्धक क्षेत्रमा पनि चैतेदसैँ मेला सुरु भएको छ । गोद्धक क्षेत्र पर्यटन विकास समितिको आयोजना तथा थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको सहआयोजनामा अष्टजाम पूजासहित मेला सञ्चालन गरिएको हो ।
मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, बिरालोनाथ, झण्डीडाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकनका साथै विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, परशुराम कुण्ड स्नान र भोजनगृह सञ्चालन गरिने छ ।
यसैगरी माडीको सोमेश्वरगढीमा आयोजित मेलामा भक्तजनको उल्लेख्य सहभागिता छ । मेला भर्न भारतबाट पनि मानिस आउने क्रम जारी छ । गत चैत २७ गते सुरू भएको मेला यही वैशाख ६ गते सम्पन्न हुनेछ । सोमेश्वरमा बर्सेनि लाखौँ भक्तजन आउने गरेका तथा तिनमा भारतीय नागरिकको सङ्ख्या उल्लेख्य रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर